ओपेन्द्र बस्नेत , तुलसीपुर १८ माघ ।
विगत आठ बर्ष देखि योग्यता विना एक व्यक्ति राप्ती अंचल अस्पताल तुलसीपुरमा काम गर्दै आएको रहस्य खुलेको छ । २०६६ साल पुष १ गते अस्पतालको एक्सरेमा डार्क रुम असिसटेन्सका रुपमा काम गर्दै आएका यज्ञबहादुर थापाको पद अनुसार आवश्यक योग्यता नपुगेको स्वम् अस्पतालले बताएको छ । अस्पतालमा जागिर खाएको आठ बर्ष पछि यस्तो रहस्य बाहिर आएको हो ।
ए–क्सरेमा काम गर्न रेडियो ग्राफर या डार्क रुम तालिम गरेको हुनुपर्छ । रेडियो ग्राफरका लागि तीन बर्षे कोर्ष र डार्क रुमका हकमा १८ महिने तालिम प्राप्त गरेको हुनुपर्छ । थापा अहिले डार्क असिस्टेन्सका रुपमा कार्यरत छन् ।
अंचल अस्पताल प्रशासनले दिएको जानकारी अनुसार थापाले र्डाक रुम असिस्टेन्सको जागिर खान टेष्ट पास (अन्डर एस.एलसी) को सर्टिफिकेट र शुभम पोलिक्लिनक डाइग्नोसिस सेन्टर त्रिपुरेश्वर काठमान्डौबाट दुई महिना तालिम गरेको प्रमाण पत्र पेश गरेका छन् । प्रमाणपत्रमा २०६३ वैशाख २५ देखि असाढ २६ गते सम्म एक्सरे तालिम गरेको उल्लेख छ । थापालाई तत्कालिन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केदार सेन्चुरीले अस्पतालमा भित्रयाएका थिए । ‘अन्डर एस.एलसीको सर्टिफिकेट र तालिम गरेको यो प्रमाणपत्र मात्रै छ’– अस्पतालका सुब्बा नवेन्द्र गिरीले भने,–‘हामीलाई प्राप्त शैशिक डकुमेन्ट यति हो ।’
अस्पतालका कर्मचारी अनुसार थापा सुरु देखि एक्सरे मेसिनको हर्ताकर्ताको रुपमा गनिन्छन् । अस्पतालका केहि चिकित्सकहरुले योग्यता नपुगेका व्यक्तिलाई डार्क रुम असिस्टेन्सको जिम्मेवारी दिनु भनेको लाइसेन्स नभएको व्यक्तिलाई कार चलाउन दिए सरह भएको प्रतिकृया दिएका छन् ।
‘सूई लगाउन जानेको छ, अनुभवका आधारमा चेकजाँच गरेर दिएको औषधीले बिरामी पनि राम्रो(निको) भएको छ भन्दैमा उसलाई डाक्टर भनिदिने ?,–एक चिकित्सकले नाम नवताउने सर्तमा भने’– ‘ त्यसको लागि त योग्यता हुनु प¥यो । किन सरकारले नक्कली डाक्टर भन्दै पक्राउ गर्दै गरेको छ छोडिदिए भैगो नि ।’
आवश्यक योग्ता हासील नगरेर गरेका कामले दिर्घकालिन रुपमा समस्या हुन सक्ने बताइएको छ । चिकित्सकका अनुसार एकातर्फ ए–क्सरे गर्दा अर्को तर्फ भयो भने बास्तविक रिर्पोट पनि आउन नसक्ने र बिरामीले पटक पटक एक्सरे गर्दा विकिरणले स्वास्थ्यमा गम्भिर असर पुग्न सक्छ । विभिन्न मेडिकलमा समेत लगानी गरेका थापा अस्पताल समयमा बाहिर जाने गरेको समेत व्यापक गुनासो आउने गरेको छ ।
ता यता राप्ती अंचल अस्पतालले भने सहयोगीका रुपमा काम गरेको बताएको छ । रेडियो ग्राफर र डार्क रुम असिस्टेन्स दुई जना भएको भन्दै राप्ती अंचल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. विनो सिङले थापा सहयोगी मात्रै भएको बताएका छन् । यद्यपी अस्पतालले भने डार्क रुम असिस्टेन्सको नियुक्ति दिएका थापाले सोही अनुसार सेवासुविधा प्राप्त गर्दै आएका छन् ।