बालविवाह न्यूनिकरणमा महिलाहरूको भूमिका अहम् हुने

सल्यान, २५ फागुन । सल्यानको कपुरकोट गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्ने महिलाहरूले बालविवाह न्यूनिकरणका लागि महिलाहरूको अहम् भूमिका हुने बताएका छन् । ११३ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्ने महिलाहरूले यस्तो बताएका हुन् । विवाह भन्ने कुरा महिलाहरूको निर्णयमा निर्भर रहेको भन्दै आफ्ना घरमा रहेका छोरीहरूको आनीबानीमा आमाहरूले विशेष निगरानी गर्न सकेमा बाल विवाह केही हदसम्म न्यूनिकरण गर्न सकिने महिलाहरूको भनाई छ । कपुरकोट गाउँपालिकाले बाल विवाह न्यूनिकरणका लागि चलाएको अभियान लाई सफल बनाउन आफूहरूले पूर्ण रुपमा सहयोग गर्ने समेत महिलाहरूले प्रतिबद्धता जनाएका छन् ।
कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने महिलाहरूले समाजलाई सुन्दर बनाउन महिलाहरूको विशेष जिम्मेवारी रहेको भन्दै जसका लागि शिक्षा आर्जन गर्दै क्षमता अभिबृद्धि गर्नु पर्ने औंल्याएका छन् । उनीहरूले बजारमा सजिलै बिकाउ र टिकाउ हुने महिलाहरूको सीप र क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम बनाएर गाउँपालिकाले बजेट बिनियोजन गर्नु पर्ने सुझाब समेत दिएका छन् ।

कपुरकोट गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक इकाइका प्रमुख हिरा वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले कपुरकोट गाउँपालिका भित्रका महिलाहरूमा पनि राज्यका हरेक निकायमा पुग्न सक्ने क्षमता भएको बताउनु भएको छ । पुनले महिलाहरू आफै सशक्तिकरणको अभियानमा लागेको भन्दै आफू भित्र रहेका हरेक सीप र क्षमतालाई मौका मिलेका बेला देखाई हाल्नु पर्ने बताउनु भयो । पुनले गाउँपालिका भित्र रहेका सबै महिलाहरूको क्षमता विकासका लागि विशेष कार्यक्रम लागू गरिने बताउनु भयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गाउँपालिकामा बालविवाह न्यूनिकरण गर्नका लागि सबै महिलाहरू एकताबद्ध भएर लाग्नु पर्ने बताउनु भएको छ । भण्डारीले महिला दिवसमा आयोजना गरिने कार्यक्रममा मात्र नभएर अन्य कार्यक्रममा पनि महिलाहरूको सक्रिय सहभागिता हुँदा महिलाहरू अझै सचेत र जागरुक हुने बताउनु भयो ।
धनबाङ स्वास्थ्य चौकीका सिनियर अनमी सुजाता भण्डारीले सहजिकरण गरेको कार्यक्रममा कालिका माविका प्रधानाध्यापक चुडामणि केसी,वडा अध्यक्षहरू बालाराम खड्का, प्रदिप खड्का, होम बहादुर खड्का लगायतकाले भनाई राख्नु भएको थियो । महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बालविवाहलैङ्गिक हिंसा न्यूनिकरणमा महिलाको भूमिका बिषयक बक्तित्वकला प्रतियोगिता समेत आयोजना गरिएको छ । गाउँपालिकाका ६ वटै वडाका महिलाहरूले भाग लिएको प्रतियोगितामा पुजा बि.क प्रथम,गोमा बुढाथोकी द्धितिय र तलसरी बोहरा तृतिय हुनु भएको थियो । यस्तै खुल्ला बक्तित्व कला प्रतियोगितामा भूमिका बुढाथोकी प्रथम, पुजा बिक. द्धितिय,ममता खड्का तृतिय र निर्मला शिरिस सान्त्वना हुनु भएको थियो । प्रतियोगितामा क्रमस प्रथम,द्धितिय र तृतिय स्थान प्रपाप्त गर्नेलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यक्रममा सहभागि भएका ६ वटै वडाका महिला स्वास्थ्य आमा समूहलाई सम्मान गरिएको थियो ।।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार
प्रतिक्रिया