
दम्माम साउदी, ५ मार्च । साउदी अरबमा नेपाली श्रमिकहरुले होली पर्व मनाएका छन । शुक्रबार साउदीको पुर्बी क्षेत्र दम्माममा हेल्प मधेसी साउदी अरबले उल्लासमय तरिकाले होली पर्व मनाएको हो । संस्थाको अध्यक्ष राम दुलार मन्डलको अध्यक्षतामा नेपाली राजदुतावासको स्थानीय कर्मचारी नारायण पासवानको सभापतित्वमा साउदीको सक्रिय संघसंगठनका प्रतिनिधिहरु,सामाजिक ब्यक्तित्वहरु लगायत ६ सय जनाको उपस्थिति रहेको थियोे । कार्यक्रममा होलीको शुभकामना ब्यक्त गर्दै नेपाली राजदूताबासको स्थानीय कर्मचारी नारायण पासवानले नेपाली श्रमिकको हकहितमा दूतावासले कार्य गर्दै आईरहेको जानकारी दिनुभएको छ ।
सो अवसरमा एनआरएन आईसीसीका महिला उपाध्यक्ष यासमिन बेगम, मध्य पुर्ब संयोजक राजेन्द्र अर्याल, साउदी अध्यक्ष डम्बर यदाब, जनजाती तथा आदिवासी महासंघ साउदीका अध्यक्ष खेम गुरुङ, सामाजिक ब्यक्तित्व ओम घले, प्रवासी नेपाली मंच साउदीका महासचिव याम लामा बम्जन लगायत ब्यक्तित्वहरुले होलीको शुभकामना ब्यक्त गर्दै मन्तव्य राखेका थिए । साउदी जस्तो फरक संस्कृतिको देशमा होली खेल्न पाउँदा खुशी भएको भन्दै सहभागीहरुले एक आपसमा अबिर र रङ्ग लगाएर होली उत्सब मनाएका थिए । कार्यक्रममा साउदीका स्थानीय कलाकारहरुको होली विशेष प्रस्तुति किर्तन नृत्यले कार्यक्रममा अधिक रुचाएका थिए । सहभागीहरुलाई साउदीको प्रतिष्ठित अल्माराई कम्पनीले जुस र ब्रेड निशुल्क उपलब्ध गराएको थियोे । सन् २०१६ मा स्थापना भए देखि होली कार्यक्रम गर्दै आएको संस्थाले मधेस विशेष कार्य गर्ने देखिएपनी साउदीमा समस्त नेपाली श्रमिकलाई राहत तथा उद्वार कार्य गर्दै आइरहेको छ ।