सामाजिक पहिचानका लागि मगरको एकता आवश्यक

सल्यान, १५ फागुन ।   सामाजिक पहिचानका लागि सबै मगरहरूको एकता हुनु पर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । सल्यानको कालिमाटी गाउँपालिकामा आयोजित ४१ औं मगर दिवसको कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् । नेपाल मगर संघ कालिमाटी गाउँ कार्य समितिका अध्यक्ष मन बहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सदस्य ठगेन्द्र पुन मगरले मगरहरूको सामूहिक एकताका लागि मगर संघ गठन गरिएको बताउनु भयो । पुनले आफ्नो पहिचान, संस्कृति र परम्परालाई जोगाई राख्न चाहने मगरहरू मगर सङ्घमा आबद्ध हुन अनुरोध गर्नु भयो ।

कालिमाटीका मगर अगुवा केशर सिंह बूढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका विशिष्ट अतिथि कपुरकोट गाउँपालिका सल्यानका अध्यक्ष दुर्गा बहादुर पुन मगरले मगर समुदायको संस्कृति, परम्परा र अस्तित्व बचाई राख्नका लागि सबै मगरहरू लाग्नु पर्ने बताउनु भयो । पुनले कपुरकोट गाउँपालिकाका सबै मगरहरू सामाजिक एकताको पहिचान र भाषाको संरक्षणका लागि निति तथा कार्यक्रम बनाई बजेट बिनियोजन गरेको जानकारी दिंदै सल्यानका सबै स्थानीय तहले मगरहरूको पहिचानका लागि विशेष कार्यक्रम बनाउनु पर्ने बताउनु भयो ।

 

मोहन सारू मगरले सहजीकरण गरेको कार्यक्रमका अर्का विशिष्ट अतिथि कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले मगर समुदायका निम्ति गर्नुपर्ने कामका बारेमा विशेष कार्ययोजना बनाई प्रस्तावना आए कालिमाटी गाउँपालिकाले सहज रुपमा सहयोग गर्ने बताउनु भयो ।

यस्तै मगर समुदायका बौद्धिक ब्यक्ति तथा साहित्यकार भद्र सिंह बूढा मगरले मगरहरू समयको माग संगै समृद्धिको अभियानमा लाग्नु पर्ने बताउनु भयो । बुढाले सबै भन्दा पहिले मगर हुं भन्नको लागि मगर भाषाको ज्ञान र संस्कृतिको विषयमा जानकार हुनु पर्ने बताउनु भयो । उंहाले बिभिन्न जातिगत समुदायको बिचमा मगरहरू पनि एक महत्वपूर्ण समुदाय रहेको जनाउदै आफ्नो कार्य कौशलतालाई अरु जातीसँग प्रतिस्पर्धा गर्ने गरी अब्बल बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया