बैंकको एटीएम मेशिन फोर्न खोज्ने २ जना पक्राउ

कास्की, ११ फागुन । पोखरामा विभिन्न बैंकका एटीएम मेशिन फोर्न प्रयास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार राति पोखरा महानगरपालिका–१० रामबजारमा रहको एनआईसी एसिया बैंकको एटीएम, पोखरा–१५ वन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंकको एटीएम र रामबजार पेन्सन क्याम्प नजिक रहेको साङ्ग्रिला विकास बैंकको एटीएम मेशिन फोर्नका लागि तोडफोड गर्ने, ढुङ्गा हान्ने तथा सिसीटिभी क्यामेरा कागजले छोप्ने गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले घटनामा संलग्न उदयपुरको गाईघाट नगरपालिका–७ घर भई पोखरा–१७ छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लम्जुङको मर्स्याङ्दी गाउँपालिका–४ घर छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लुबहादुर गुरुङलाई पक्राउ गरेको हो । चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार
प्रतिक्रिया