राष्ट्रिय सभा निर्वाचन: आज उम्मेदवारी दर्ता हुँदै

तुलसीपुर,१० माघ ।

माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उत्साहपूर्वक उम्मेदवारी दर्ता गराउन दलहरूलाई आग्रह पनि गरेको छ ।

सातवटै प्रदेशका उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने आयोगको भनाइ छ । यसैबीच राष्ट्रिय सभाको निर्वाचनमा दाङका ३ जनाले उम्मेदवारी दर्ता गराउँदैछन् । जसमा नेकपा एमालेको तर्फबाट कोमल ओली, नेपाली कांग्रेसको तर्फबाट अनिता देवकोटा र राष्ट्रिय जनमोर्चाको तर्फबाट रश्मीराज नेपालीले उम्मेदवारी दर्ता गर्दैछन् ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले पाँचनम्वर प्रदेशको उम्मेदवारी दर्ताका लागि आज बिहान १० जनेदेखि अपरान्ह ४ वजेसम्मको समय छुट्याएको जानकारी दिनुभयो । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख छन् । प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ समेत गरी कुल मतदाता २ हजार ५६ छन् । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ सदस्य चुनिने छन् ।

 

प्रकाशित मिति : २०७४ माघ १० गते बुधवार
प्रतिक्रिया