
बाँके, ५ फागुन । बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चलाइएको बताउनुभएको छ । अभियानलाई प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भन्दै उक्त अभियानलाई सफल बनाउन उहाले सबैलाई आग्रह गर्नुभएको छ । रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एक मात्र उपाय भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिनुभएको छ ।
हात्तीपाइलेविरुद्धको औषधि सेवन कार्यक्रम यही फागुन ११ देखि सुरु हुँदै छ । यस पटक जिल्लामा छ लाख १६ हजार छ सय ९५ जनालाई औषधि खुवाउने लक्ष्य रहेको उहाले जानकारी दिनुभयो । उनले गर्भवती र सुत्केरी बाहेक सबैलाई औषधि सेवन गर्न आग्रहसमेत गर्नुभएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ५० प्रतिशत, कोहलपुर र डुडुवामा ७८, खजुरामा ७६, राप्तीसोनारी र बैजनाथमा ७३, नरैनापुरमा ७४ र जानकी गाउँपालिकामा ८० प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०६७. ६८ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको थियो ।