
दैलेख, २ फागुन । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका(८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले काठले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिनुभएको छ ।
घरमा दुईजना मात्रै बस्दै आएको र विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै मृत्यु भएको डीएसपी लम्सालले बताउनुभएको छ । स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई हत्या गरेका हुन । हत्याराले मान सुन्न नसक्ने भएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको डीएसपी लम्सालले जानकारी दिनुभएको छ ।