काठमाण्डौ, २९ माघ । आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम र लुम्बिनीका तराई भेग र कर्णालीको दक्षिणी पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभएको छ । दिउँसो १२ बजेपछि यी क्षेत्रमा तीव्र गतिमा हावा चल्ने अनुमान गरिएको उहाँले बताउनुभएको छ । हावाहुरी ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने अनुमान गरीएको उहाले बताउनुभएको छ ।
पश्चिमी वायुको प्रभावका कारण हावाहुरी चल्ने र यो वायुको प्रभावले दाङ सहित अन्य क्षेत्रमा पनि हावा चल्ने अनुमान छ । तर, सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका अन्य ठाउँमा तीव्र गतिमा हावा नचल्ने मौसमविद् श्रेष्ठले बताउनुभएको छ । हावाहुरीले सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा क्षति गर्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । दिउँसोको समयमा घर बाहिर हिँडडुल गर्दा सतर्कता अपनाउन र हावाहुरी चलेको समयमा सकेसम्म घरभित्रै बस्न मौसमविद्को सुझाव छ । १३ देखि २२ किलोमिटर प्रति घण्टाको गतिमा चल्ने हवाहुरीलाई सामान्य मानिन्छ । तर, ४० देखि ५० किलोमिटर प्रतिघण्टामा हावा चल्ने भएकाले सावधानी अपनाउन भनिएको हो