प्रदेशसभाले एक सातामा पूर्णता पाउने

काठमाडौं । अबको एक सातामा प्रदेशसभाले पूर्णता पाउने निश्चित भए पनि निर्वाचनको अन्तिम परिणाम बुझाउनेबारे भने केही कानुनी जटिलता देखिएको छ । गोरखापत्रमा समाचार छ । प्रदेशसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउने व्यवस्था छ । तर, अहिलेसम्म प्रदेश प्रमुखको नियुक्ति भएको छैन ।

निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरी दललाई एक साताभित्र समावेशी रूपमा सदस्य सिफारिसका लागि पत्राचार गरिसकेको छ । एक साताभित्र दलले सदस्य सिफारिस गरे पनि आयोग मत परिणाम बुझाउने अवस्था भने छैन । दलहरूले बढीमा अबको पाँच दिनभित्र सदस्य सिफारिस गर्नेछन् । निर्वाचन आयोगले उक्त नामावली समावेशी सिद्धान्तअनुसार भए वा नभएको अध्ययन पछि स्वीकृत गर्नेछ । र, नामावलीमा नाम समावेश भएका उम्मेदवारलाई विजयी घोषणा गर्नेछ ।

नामावली परीक्षण लगायतका काममा आयोगले दलले सूची बुझाएपछि केही दिन लगाउनेछ । कम्तीमा पनि उक्त अवधिसम्म प्रदेश प्रमुख नियुक्त भइसक्नुपर्नेछ । प्रदेशसभा सदस्य निर्वाचन ऐनको दफा ६०(८) मा निर्वाचित उम्मेदवारको नाम आयोगले प्रदेश प्रमुखसमक्ष पठाई नामावली राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । आयोगले दलले पेश गरेको सूचीमा समावेश गरेका उम्मेदवार निर्वाचित भएको घोषणापछि नतिजा राजपत्रमा प्रकाशित गरी प्रदेश प्रमुखलाई बुझाउने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २०७४ पुष १२ गते बुधवार
प्रतिक्रिया