गौतम र पौडेलले गरे खास खुलासा

काठमाडौं,२५ मंसीर ।

वाम गठबन्धनले करिब दुईतिहाइ बहुमत जित्ने संकेत देखिएका वेला एमाले उपाध्यक्ष वामदेव गौतम भने पराजित भएका छन् । निर्वाचन परिणामलगत्तै आफूमाथि अन्तर्घात भएको प्रस्ट संकेत गर्दै उनले तथ्य–प्रमाण जुटिसकेपछि सबै कुरा बाहिर आउने बताए । गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग ७७४ मतको झिनो अन्तरले पराजित भएका हुन् । एमालेबाट वाम गठबन्धन निर्माणमा गौतम प्रमुख सूत्रधारका रूपमा खटिएका थिए ।

सोही कारण दुवै पार्टीका नेता–कार्यकर्ताको सद्भावले जित सहज रहेको अनुमानविपरीत उनी पराजित भए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले ४४ हजार ७६ मत ल्याएका छन् भने विजयी कांग्रेसका गौतमले ४४ हजार ८२३ प्राप्त गरे । एमाले बर्दियामा अध्यक्ष केपी ओलीनिकट हरि ज्ञवाली अध्यक्ष छन् । जिल्ला कमिटीमा पनि संस्थापनकै बहुमत छ । गौतमनिकट स्रोतले पूर्वसांसद श्याम ढकाल, केन्द्रीय खेलकुद विभागका सचिव दामोदर अर्यालगायतको समूहले असहयोग गरेको आशंका गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्रीको स्वाभाविक दाबेदार रहेको बताएलगत्तै गत साता गौतमले वाम गठबन्धनका तर्फबाट आफू प्रधानमन्त्रीको दाबेदार भएको घोषणा गरेका थिए । पार्टीबाट अध्यक्षसहित तीन वरिष्ठ नेता प्रधानमन्त्री बनिसकेकाले गठबन्धन निर्माणमा सक्रिय रहेका कारण पनि आफू स्वाभाविक दाबेदार भएको गौतमको तर्क थियो ।

ओलीसँग चार वर्षअघि भएको भद्र सहमतिअनुसार पनि गौतमले सांसद जितेपछि आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार दाबी गर्ने कतिपयले अनुमान गर्दै आएका थिए । गौतमनिकट स्रोतले पनि सोही कारण आफूमाथि अन्तर्घात भएको हुन सक्ने आशंका गरेको छ । पराजयलगत्तै गौतमले आफूमा निराशाबोध नभएको भन्दै गठबन्धन क्रमशः पार्टी एकतामा रूपान्तरित हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

‘म वाम गठबन्धनको एउटा प्रमुख सूत्रधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु । म व्यक्तिगत रूपमा पराजित हुनुपरे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन,’ गौतमले विज्ञप्तिमा भनेका छन्, ‘जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाध प्यार र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूति भइरहेको छ । यो गठबन्धन क्रमशः पार्टी एकतामा रूपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु।’

अन्तर्घातका कारण पराजित भएँः रामचन्द्र पौडेल

कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीभित्रैको अन्तर्घातका कारण आफू पराजित भएको बताएका छन् । अन्तर्घातीलाई कारबाही गर्नुका साथै देशभर पार्टीको हारको कारण र यसको निदान खोज्नुपर्ने उनले बताए । ‘निर्वाचनको समग्र नतिजा कांगेसका लागि दुःखद रह्यो ।

यसले कांग्रेसलाई पक्कै राम्रो गरेको छैन । यो नतिजा देशकै लागि पनि राम्रो होइन । साथै, हामी तनहुँमै पनि पराजित हुनुपुग्यौँ,’ नेता पौडेलले नयाँ पत्रिकासँग भने, ‘वाम गठबन्धनभन्दा पनि पार्टीभित्रैकै आन्तरिक कारणले हामी पराजित भएका छौँ ।’

कांग्रेसबाट टिकट नपाएपछि नेता गोविन्दराज जोशीले पनि पौडेल उम्मेदवार रहेको तनहुँ १ बाटै स्वतन्त्र उम्मेदवारी दिएका थिए । भ्रष्टाचारको मुद्दा किनारा नलागेको अवस्थामा जोशीको उम्मेदवारी अवैधानिक रहेको भन्दै पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

निर्वाचन आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी आधारमा टेक्दै जोशीको उम्मेदवारी खारेज गरिदिएको थियो । यसबाट क्रूद्ध बनेका जोशीले पौडेललाई जसरी पनि हराउने भन्दै अभियान नै थालेका थिए ।
नयाँ पत्रिकामा समाचार छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया