काठमाडौं ४ मा गगनले जिते, कांग्रेस ३ क्षेत्रमा विजयी

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् । केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन् । थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका डा.राजन भट्टराईले १८ हजार १४० मत पाए ।

यस अघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् ।

सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् । मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहे पनि जित्न सकेनन् । चुनाव जितेर मिश्रले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका थिए । त्यसैगरी रसुवा जिल्लाको क्षेत्र नम्बर १ मा मोहन आचार्य १४ हजार ४ सय ५३ मत ल्याई विजयी भएका छन्।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया