जुम्ला । जुम्लाको अन्तिम गाउँ चोत्रा चौरदेखि पूर्वमा पर्ने दूधकुण्डली तालछेवैको डाँडाबाट सूर्य पश्चिमतर्फ छलाङ मार्दै छ । जंगलभरि लयबद्ध आवाजमा कराइरहेका गज्याङ किराको आवाजले गोठालालाई गोठतिर भैंसी बटुल्न संकेत गरिरहेको छ ।
वरिपरि घना जंगल, छेउमा कलकल बगिरहेको खोला, खोला किनार रंगीचंगी त्रिपालले छाएका गोठमा झन्डै चार महिना बिताउँछन्, कर्णालीका भैंसी गोठाला ।
जुम्ला र जाजरकोटबाट असार पहिलो साता लेकमा उक्लिएका गोठाला असोजपछि मात्रै बेसी झर्छन् । गाउँमा भिरपाखा बढी छ, घाँस काटेर खुवाउनुपर्छ । लेकमा भने गोठालालाई हाइसुख हुन्छ । गाउँ हुँदा गोठभित्रै थुनिने भैंसी लेकमा भने स्वतन्त्र हुन्छन्, लागेको बेला चर्न पाउँछ ।
नेपालकै गहिरो ताल से–फोक्सुन्डो, जगदुल्ला र दूधकुण्डली पुग्ने यही मनाङ–मुस्ताङ पुग्ने सडकखण्ड भएर यात्रा गर्छन् । पर्यटक आगमन हुँदा सवारी साधनको आवाजले पाडा पाडी तर्सिन्छन्, गोठाला भने दहीदूध बिक्री हुने आशाले खुसी हुन्छन् । पर्यटक भैंसी गोठमा दही दूध खाँदै गन्तव्यमा टुंगो लगाउँछन् ।
गोठाला दैनिक ४ घण्टा हिँडेर दूध, दही बेच्न गाउँ पुग्छन् । चार महिनामा भैंसीगोठबाट भएको आम्दानीले घर खर्च चलाउँछन् । यसबाट महिनामा ४० हजारसम्म आम्दानी हुने जाजरकोटका दलबहादुर चलाउने बताउँछन् । ‘हाम्रो बाल्यकाल लेकबेंसी गर्दै गयो,’ उनी भन्छन्, ‘भैंसी गोठसँग लेक पुग्न थालेको २२ वर्ष पुग्यो ।’
वर्षायामका चार महिनासम्म जुम्ला चोत्रा, गुठीचौर, दुम्मर, तरापीलगायत ठाउँमा भैंसी राखिन्छन् । असोज पहिलो साता यी गोठ बेंसी सारिन्छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा भैंसी संख्या ७ हजारको हाराहारी छ । वर्षमा प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले ४७ लिटर मात्रै आपूर्ति भइरहेको छ ।
परम्परागत रूपमा रहेको भैंसीपालन व्यवसायमा रूपान्तरण हुनेक्रम बढिरहेको पशु अस्पताल तथा पशु शाखा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महत बताउँछन् । ‘जुम्लामा पारपाटे र गड्डी जातका भैंसी छन्, भैंसीपालनमा आर्कषित गर्न गोठ निर्माण र भैंसी खरिदमा अनुदान दिँदै आएका छौं,’ उनी भन्छन् ।
जुम्ला खलंगामा आधा दर्जन दूध डेरी सञ्चालन छन् । परम्परागत रूपमा रहेको भैंसीपालन विस्तारै व्यावसायिक बन्दै गएको छ । पाटन र खर्कमा पुगेका आगन्तुक चरा, थरीथरीका फूलसँगै वर्षायाममा लेकाली भेगमा सारिएका गाई, भैंसी र भेडीगोठले शोभा बढाएका छन् । तर, गोठ भने व्यवस्थित छैनन् । चट्याङ, हावाहुरी, असिनापानीबाट बच्ने व्यवस्थित गोठ बनाइदिनुपर्ने गोठालाको माग छ ।
‘जंगली जनावरको डर छ, हावाहुरीले त्रिपाल उडाउँछ, विपद्बाट बालबाल बचेका छौं, हामी आफ्नै मेहनत र लगावले बाँचिरहेका छौं,’ गोठाला दिलबहादुर बुढा भन्छन््, ‘सरकार हाम्रो सुखदुःखको साथी बन्न सक्नुपर्छ ।’