मतगणना दुई दिनभित्र सक्ने गरी दाङमा तयारी

तुलसीपुर,१९ मंसीर ।

बिहीबार हुन लागेको चुनावको मतगणना दुई दिनभित्र सक्ने गरी दाङमा तयारी थालिएको छ । यस पटकका जिल्लाको सबै मतगणना घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा गरिनेछ । विद्यालयमा रहेका तीन अलग–अलग भवनमा मतगणना गरिने भएको छ । प्रत्येक भवनमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि अलग–अलग तीन ठाउँमा गणनाको व्यवस्था गरिएको छ ।

मतगणना स्थलको व्यवस्थापनसँगै मतगणना हुने स्थानमा सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, वाइफाईलगायतको सम्पूर्ण तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रतिनिधिसभाका ३ वटा र प्रदेशसभाका लागि ६ वटा क्षेत्र रहेको दाङमा एक निर्वाचन क्षेत्रको तीन स्थानमा गणना गर्ने तयारी भइरहेको छ ।

बिहीबार बेलुका सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर त्यसै दिनको रातिबाट मतगणना थाल्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो । मतगणना सुरु भएको ४८ घण्टा अर्थात दुई दिनभित्र सबै परिणाम सार्वजनिक गर्ने गरी आफूले तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभया ।।

प्रकाशित मिति : २०७४ मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया