तुलसीपुर, १८ मंसीर
नेकपा एमाले क्षेत्र नं ३ ले आज तुलसीपुरमा बृहत घरदैलो अभियान संचालन गरेको छ । घरदैलो अभियानमा वाम गठबन्धनको तर्फबाट क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार हिराचन्द्र केसी र ३ ‘क’ का प्रदेश उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’लाई तुलसीपुरबासीले जितको शुभकामना दिएका छन् । दुई हात जोडेर नमस्कार गर्दै मतदाताको घर–घरमा पुगेका उम्मेदवारलाई यस पटक तपाईहरुले नै जित्नुहुन्छ भन्दै जितको शुभकामना दिएका हुन् । ‘यस अघि विभिन्न समयमा चुनाव जितेर सत्तामा पुगेकाले जनचाहना अनुसार काम गर्न सकेनन्, – विरेन्द्र चोक नजिकै भाँडा पसल गर्दै आएका राजन खत्रीले भन्नुभयो, ‘ तपाईहरुले पनि गफ मात्रै गर्नुभयो काम गर्नुभएन भने तपाइहरुको हालतमा पनि अर्को चुनावमा कांग्रेसको जस्तै हुन्छ ।’ घरदैलो अभियानमाबाजागाजा सहित सयौं नेता कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।