तुलसीपुर,१६ मंसीर ।
निर्वाचन आयोगका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोग प्रतिवद्ध भएको बताएका छन । घोराहीमा शनिवार जिल्ला प्रशासन कार्यालय दाङले आयोजना गरेको कार्यक्रममा निर्वाचन आयुक्त पौडेलले निर्वाचनको दोस्रो चरणमा हुने ४५ जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन हुने दावी गरे ।
उनले स्थानीय निर्वाचन पनि दाङमा शान्तिपूर्ण भएको र मंसिर २१ गतेको चुनावलाई पनि शान्ति पूर्ण बनाएर नमुना बन्न दाङवासीलाई अपिल समेत गरे । कार्यक्रममा दाङ जिल्लाका प्रमुख निर्वाचन अधिकृत हेमन्त रावलले ३ सय ९४ मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई आइतवारबाट निर्वाचन सामग्री उपलव्ध गराएर कार्य स्थलतर्फ पठाइने बताए ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्लामा शान्ति पूरा रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षाको कुनै पनि कसर बाँकी नराख्ने बताए । त्यस्तै प्रदेश नं. ५ का प्रहरी प्रमुख मधुसुदन बुडासैनीले दाङसहित प्रदेश नं. ५ का जिल्लाहरुमा निर्वाचन सुरक्षा कडा बनाइएको जानकारी दिए ।