पश्चिम रुकुममा मतदान सुरु,कांग्रेस पनि सहभागी

रुकुम,१५ मंसीर ।
पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक÷एक मतदान केन्द्रमा आज पुनः मतदान सुरु भएको छ । १० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको हो ।

बाँफीकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान हुने मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबिसकोटको मतपेटिकामा ३ सय ३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । खड्का कांग्रेसका कार्यकर्ता हुन् ।

उनी मतदान केन्द्रमा कांग्रेसको प्रतिनिधिको रुपमा खटिएका थिए । यसैविच कांग्रेस पनि चुनावमा सहभागि हुने भएको छ । यस अघि आफ्ना कार्यकर्तालाई रिहाईको माग गर्दै चुनाव बहिस्कार गर्ने कांग्रेसले घोषणा गरेको थियो । तर जिल्ला स्तरका नेताको आग्रहमा मतदानमा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया