‘हाम्रो होइन,राम्रो नेतालाई भोट’

 

यमकला भुषाल,तुलसीपुर १४ मंसिर ।

मंसिर २१ गते प्रतिनिधी र प्रदेश सभा सदस्यको चुनाव हुँदैछ । दलहरु आ–आफ्ना एजेन्डा लिएर जनता फकाउन घरदैलोमा व्यस्त छन् । उनिहरुले बिगतमा जस्तै यसपाली पनि जनतालाई आश्वासनका पोका बाँडीरहेका छन् । तर,जनता भने यसपाली नेताको पुच्छर बनेर हिड्ने पक्षमा छैनन् । उनिहरु भन्छन्,‘पार्टीलाई होइन,राम्रो नेतालाई भोट ।’

तुलसीपुर उपमहानगरपालिका पाँचकी शीखा शर्मा पन्थीले यसअघी बाजे बराजुले जुन पार्टीलाई भोट हाल्थे,त्यहीँ पार्टीलाई भोट हाल्नुहुन्थ्यो । व्यक्ति जस्तोसुकै होस्,पुख्र्यौली पार्टीका नातालाइ उहाँले आँखा चिम्लेर भोट हाल्नु भयो । तर,त्यसरी भोट हालेर जिताएका नेता फर्केर गाउँ कहिल्यै आएनन् । अनि उहाँलाई लाग्यो भोट हाल्दा पार्टी होइन,राम्रो व्यक्ति छान्नुपर्दो रहेछ । यसपटक भने उहाँ पुर्खाले भोट हालेको पार्टी भनेर होइन,देश र जनताका लागी काम गर्न सक्ने इमान्दार व्यक्तिलाई मतदान गर्ने बताउनुहुन्छ ।

शीखा शर्मा जस्तै तुलसीपुरको सल्यान रोडमा जुत्ता सिलाएर जीवीकोपार्जन गर्ने दिपक नेपाली पनि यसअघी बाजे र बराजुलीले भोट हालेको पार्टीको चुनाव चिन्ह खोज्दै भोट हाल्नुहुन्थ्यो । अहिले भने उहाँका आँखा खुलेका छन् । भोट हाल्दा पार्टी होृइन,राम्रो व्यक्ति छान्नुपर्ने रहेछ भन्ने उहाँलाई लागेको छ । उहाँ चुनावमा हाम्रो होइन्,राम्रो नेतालाई भोट हालेर जिताउनुपर्छ भन्नुहुन्छ ।

त्यस्तै तुलसीपुर ५ की आरती रिजाललाई मसिंर २१ हुन लागेको चुनावले उत्साहित बनाएको छ । उहाँ पनि पार्टी होइन,देश र जनताका पक्षमा काम गर्न सक्ने योग्य उमेद्वारलाई भोट हाल्ने बताउनुहुन्छ । तुलसीपुर ३ डाँडाँखुटीका राजन भण्डारीको धारणा पनि आरती रिजालकै जस्तै छ । ‘जसले लोकतन्त्रको रक्षा गर्दै विकास र सम्वृद्धिका एजेण्डा ल्याउँछ,उसैलाई भोट दिने हो ।’

जनतामा बिगतमा भन्दा चेतना स्तर धेरै बढेको छ । पुर्खाले जहाँ भोट हाल्थे त्यहीँ भोट हाल्नुपर्छ भन्ने भ्रमको पर्दा मतदाताले च्यातिसकेका छन् । त्यसैले राजनीतिक दल र नेताहरुले जनतालाई आफ्नो प्याउटे ठानेर ढुक्क भएर बस्नुभन्दा जनताको जिवीकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्ने बिकास निर्माणका काममा जुटेर मन जित्न जरुरी छ ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया