निर्वाचनका लागि सुरक्षा व्यवस्थाको तयारी पूरा

काठमाण्डौं,३ मंसीर ।
यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिनुभयो ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८७९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । उहाँका अनुसार पहिलो चरणमा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन हुनेछन् ।

नेपाली सेनालाई भने आवश्यकताअनुसार परिचालन गरिनेछ । यो बाहेक पनि आवश्यक परेको खण्डमा थप जनशक्ति परिचालन गर्ने गरी विभिन्न ठाउँमा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गरिएकोमा पहिलो चरणमा २३ हजार ५०० म्यादी प्रहरी खटिने छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया