टीकाबहादुर बस्नेत,घोराही २ मंसीर ।
दाङ, मंसिर २ गते । नेकपा एमालेका नेता शंकर पोखरेलले जेष्ठ नागरिक सरोकार केन्द्रलाई प्रदेश स्तरको सुविधा सम्पन्न बृद्धा आश्रमका रुपमा विकास गर्ने बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १६ को तेरौटेमा रहेको बृद्ध आश्रम, जेष्ठ नागरिक सरोकार केन्द्रमा शनिवार बुद्धको मूर्ति स्थापनाका लागि मूर्ति हस्तारण कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
नेता पोखरेलले आफूले नेतृत्व गर्ने पाँच नम्वर प्रदेशको बृद्ध आश्रमको संरक्षण गर्न विशेष प्याकेज ल्याउने उद्घोष गर्नुभयो । ‘यो बृद्ध आश्रमलाई सुविध सम्पन्न बृद्ध आश्रमका रुपमा विकास गर्नु जरुरी छ । बृद्ध आश्रम जेष्ठ नागरिकलाई आश्रम दिने मात्र नभई जुन सुकै उमेर समुहका व्यक्ति दिनभर यहाँ आएर मनोरञ्जन लिन सक्ने मनोरम स्थलका रुपमा विकास गर्न सकिन्छ । त्यस तर्फ मेरो ध्यान जानेछ’ उहाँले भन्नुभयो ।
नेता पोखरेलले अब बन्ने पाँच नम्बर प्रदेश लुम्विनी प्रदेश हुने र यो प्रदेशको पहिचान झल्काउन बुद्धको मुर्ति बृद्ध आश्रमलाई हस्तान्तरण गरिएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश राजधानीका हालसम्म चर्चामा रहेका अन्य स्थान भन्दा दाङ बढि उपयुक्त स्थान रहेको उल्लेख गर्नुभयो ।
नेता पोखरेलले जेष्ठ नागरिकलाई सम्मानित वातावरणमा जिउने अवस्थाको सिर्जना गर्ने बताउदैँ–‘बाम गठबन्धनको घोषणापत्रमा बृद्ध भत्ता मासिक ५ हजार पु¥याउने प्रतिवद्धता मैले मुख्यमन्त्री भएपछि जसरी पनि कार्यान्वयन गर्छु, ढुक्क हुनुहोस्’ भन्नुभयो ।
नेता पोखरेल र नेकपा एमालेकी नेतृ सुजिता शाक्यले जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरिलाई सो मूर्ति हस्तान्तरण गर्नुभएको थियोे ।