दाङमा गैरकानुनी रुपमा निर्वाचन अधिकृत तोकीयो

तुलसीपुर,१ मंसिर ।

दाङ निर्वाचन क्षेत्र नम्वर ३ मा नियम विपरीत निर्वाचन अधिकृत तोकीएको छ । कानून अनुसार सम्बन्धित जिल्लाका कर्मचारीलाई निर्वाचन अधिकृत तोक्न पाइदैन । तर,निर्वाचन आयोगले दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा सोही क्षेत्रका मतदाता समेत रहनु भएका उच्च सरकारी वकील कार्यालयका उप न्याधिवक्ता चक्रदेव आचार्यलाई निर्वाचन अधिकृत तोकेको छ ।

आचार्य तुलसीपुर उपमहानगरपालिका २ नम्बर वडावासी हुनुहुन्छ । उहाँको क्रम संख्या ६ सय १५ हो भने मतदाता नम्बर ३७२४१७७ हो । उहाँको स्थायी घर समेत सोही ठाउँमा हो । सम्बन्धित क्षेत्रका व्यक्तिलाई निर्वाचनमा खटाए निष्पक्षतामाथि प्रश्न उठ्ने भएकाले जिल्ला बाहिरका कर्मचारीलाई खटाउने कानूनी प्राबधान छ ।

उक्त क्षेत्रमा काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरी,प्रधानमन्त्री शेरबहादुर देउवाका बिश्वास पात्र डिल्ली चौधरी,खुमबहादुर खड्का निकट नेता बुद्धीराम भण्डारी चुनाव लडेकाले उहाँहरुको सजिलोका कारण प्रधानमन्त्री देउवाको दवावमो आचार्यलाई मतदाता भएकै क्षेत्रमा निर्वाचन अधिकृत तोकेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । निर्वाचन अधिकृत तोकीनु भएका आचार्य नेपाली काँग्रेस समर्थक हुनुहुन्छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सम्बन्धित जिल्लाका कर्मचारीलाई समेत निर्वाचनको महत्वपूर्ण जिम्मेवारी दिन नमिल्ने कानूनी व्यवस्था भएको भन्दै त्यहीं क्षेत्रकै मतदातालाई निर्वाचन अधिकृत तोक्नु कानून सम्मत नभएको बताउनुभयो ।

प्रकाशित मिति : २०७४ मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया