महिलाहरुको मन, हराभरा सामुदायिक वन

तुलसीपुर, २३ फागुन । गतिशील र परिवर्तनशील समाजलाई विकास तथा आर्थिक समृद्धिको गति दिनका लागि राज्यका हरेक अङ्गहरुमा महिलाहरुको अर्थपुर्ण सहभागिता रहेको देखिन्छ । त्यसैको उदाहरणको रुपमा दाङ जिल्लाको दङ्गिशरण गाउँपालिका वडा नम्बर ४ अवस्थित बैबा महिला सामुदायिक वन उपभोक्ता समुह महिलाले मात्रै नेतृत्व लिएको सामुदायिक वन हो ।
विसं २०५० साल अघि बबई नदीको किनार रित्तो बगरवस्तो समथर भुमि आजभोलि हराभरा भएको छ । सुरुवाति चरणमा बिभिन्न संघसस्थाको सहयोगमा गाउँका दिदीबहिनीहरु मिलेर वृक्षारोपण कार्यक्रम गरेका थिए ।

पछि रित्तो बगरले हरियाली वनको आकार लिन थालेपछि वनलाई थप व्यवस्थापनमा समस्या आएपछि महिलाकै सहभागितामा औपचारिक रुपमा महिलाको नेतृत्वमा उपभोक्ता समूह गठन भएको थियो । जसअनुसार नाँगा डाडाँ र मैदानहरु हयिाली बनाउने अभियानका साथ समिति तिब्र रुपमा अघि बढ्यो र हाल १३ हेक्टरमा फैलिएको सामुदायिक वनमा बिभिन्न प्रजातिका रुखहरु र चराचुरुङगीहरु समेत प्रशस्त मात्रामा देख्न सकिन्छ । करिव २१६ घरधुरी रहेको उक्त वनमा आजभोली घाँसदाउराको लागि निकै सहज रहेको छ ।

उक्त सामुदायिक वन प्राकृतिक रुपले मात्रै होईन ,आर्थिक रुपले पनी सम्पन्न भएको छ । सुरुमा वन हेरालुलाई समेत पारिश्रमिक दिन कठिनाई हुने सामुदायिक वनमा हिजोआज करिव ७ लाख सम्म रुपैयाँ कोषमा मौजदात छ । जुन पैसालाई घुम्तिकोष मार्फत उपभोक्ताले प्रयोग गर्दै आइरहेका छन् । कुनै पनि संस्थाको जिम्मेवारी पदमा रहेर काम गर्दा कहीँ न कहीँ समस्या त अवश्य आएका हुन्छन् तर समस्यालाई कसरी समाधान गर्ने भन्ने करा स्वयंम व्यक्तीमा निर्भर रहने बैबाङ महिला सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष कमला खड्का बताउनु हुन्छ ।

हामीले ग्र्रीन फाउण्डेशन नेपालको सहयोगमा महिला, दलित ,जनजाति र युवाहरुलाई नीतिगत र कानून प्रदत्त हकअधिकार र अवसरहरुका बारेमा प्रशिक्षण कार्यक्रम र महिलाको नेतृत्व विकास र लैङ्गिक हिंसा रोक्नका लागि समिति निर्माण गरेका छौ । जसकारण सबै उपभोक्ताहरु आफना हक अधिकार र कर्तव्यप्रति प्रशिक्षित भई सामुदायिक वनप्रति थप संरक्षणमा चासो देखाएका छन् ।

नेतृत्व तहमा र सहभागितात्मक रुपमा महिला सहभागिता बढेको हो । वनजङ्गल संरक्षण र ब्यवस्थापनमा नेतृत्व हरेक उपभोक्ता समूहहरुबाट महिलाहरुले गर्नु जरुरी रहेको स्थानिय सामुदायिक वन महासंघ दंगिशरण गाँउपालिका सचिव सिता डाँगीले बताउनुभयो । अव संरक्षण र उपभोक्ता मात्र होईन महिलाहरु वन संरक्षण, व्यवस्थापन एवम् समूह परिचालनमा चासो र चिन्तन र अर्थपूर्ण सहभागिता एवम् निर्णायक भूमिकाका साथ प्रस्तुत हुन सकेमा नेपाल सरकारले अवलम्बन गरेको ‘समृद्धिका लागि वन,सबैका लागि वन ’ भन्ने नारालाई सार्थक तुल्याउन सहयोग पुग्नेछ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया