समृद्ध रोल्पा बनाउने बाचा

रोल्पा, २५ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रोल्पामा पनि चुनावी सरगर्मी सुरु भएको छ । विशेषगरी बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरु भोट माग्न गाउँ गाउँमा पुगेका छन् । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको रोल्पामा चुनावी सरगर्मी बढेको छ । एक सय ६० मतदान केन्द्र र ८० मतदानस्थल रहेको रोल्पामा एक लाख २७ हजार ६ सय २९ मतदाता रहेका छन् ।

विशेषगरी रोल्पामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्न अहिले गाउँ गाउँमा घरदैलो कार्यक्रमहरु गरिरहेका छन् । बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि पुर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुन चुनावी मैदानमा हुनुहन्छ भने लोकतान्त्रीक गठबन्धनबाट सिंचाई राज्यमन्त्री एवम् नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुन चुनावी मैदानमा रहनुभएको छ ।

यस्तै प्रदेशसभाका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका नेताहरु कुलप्रसाद केसी क्षेत्र नं। १ र दिपेन्द्रकुमार पुन क्षेत्र नं। २ बाट मैदानमा हुनुहुन्छ भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका नेताहरु शेरबहादुर महरा क्षेत्र नं। १ र खगेन्द्रप्रकाश हमाल क्षेत्र नं। २ बाट चुनावी मैदानमा उत्रनु भएको छ । उम्मेदवारहरुले विभिन्न विकासे योजनाहरुसहितको प्रतिबद्धता पत्र लिएर मतदाता सामु पुगी आफूले चुनाव जितेमा समृद्ध रोल्पा बनाउने बाचा गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०७४ कार्तिक २५ गते शनिवार
प्रतिक्रिया