सल्यानमा माओबादीका ३ नेताले उम्मेदवारी फिर्ता लिएनन्

 

बुद्धिमान पुन,सल्यान २० कात्तिक ।

सल्यानमा नेकपा माओबादी केन्द्रका २ पोलिटब्यूरो सदस्य सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएका छैनन् । आगामी मंसिरमा हुने निर्बाचनमा प्रतिनिधिसभा तर्फ उमाकान्त शर्मा र प्रदेशसभा सदस्य निर्बाचन तर्फ भिम प्रकाश शर्मा उम्मेदवारी फिर्ता नलिएका हुन् ।
उनीहरुले माओबादी केन्द्र तर्फ जिल्लाको आधिकारीक उम्मेदवार आफुहरु भएको भन्दै उम्मेदवारी फिर्ता नलिएको बताएका छन् । उमाकान्त शर्माले प्रतिनिधिसभामा र भिम प्रकाश शर्माले प्रदेशसभा क्षेत्र नम्बर १ बाट लड्ने भएका छन् ।

यस्तै माओबादी केन्द्रका अर्का बागी उम्मेदवार जित बहादुर पुन पनि प्रदेशसभा क्षेत्र नम्बर २ बाट लड्ने भएका छन् । माओबादी केन्द्रका बागी उम्मेदवारको उम्मेदवारी फिर्ता नभए पछि जिल्लाको निर्बाचनलाई बिषेश महत्वका साथ हेरिएको छ ।

प्रतिनिधिसभामा ८ जना बिचमा प्रतिस्पर्धा अब प्रतिनिधिसभामा यस जिल्लामा ८ जना बिचमा प्रतिस्पर्धा हुने भएको छ ।
माओबादी केन्द्र बाट प्रतिनिधिसभा तर्फका बागी उम्मेदवार उमाकान्त शर्मासंग एमाले, माओबादी केन्द्रको संयुक्त बामगठबन्धन बाट माओवादी केन्दका विना विभागीय मन्त्री टेकबहादुर बस्नेत र नेपाली काँग्रेसका पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाह बिचमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरुले आ–आफ्नो जित सुनिश्चित भएको दाबी समेत गरेका छन् ।

यस्तै प्रतिनिधिसभा तर्फ नेकपा मालेका बलबहादुर गिरी, राष्ट्रिय जनमुक्तिका खड्क बहादुर पुन, राष्ट्रिय जनमोर्चाका ढकन प्रसाद शर्मा, एकृकित राप्रपा राष्ट्रबादीका गुरु प्रसाद भण्डारी, नयाँ शक्तिका सुमन कुमार बिक पनि निर्बाचनमा लड्ने भएका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर १ मा ५ जना बिचमा प्रतिस्पर्धा
यस्तै प्रदेशसभा सदस्यको लागी सल्यान क्षेत्र नम्बर १ मा ५ जना बिचमा प्रतिस्पर्धा हुने भएको छ । एमाले, माओबादी केन्द्रको संयुक्त बामगठबन्धनबाट प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका जिल्ला ईन्चार्ज गुलाबजंग शाह, नेपाली काँग्रेसका महासमिती सदस्य एकराज डाँगी, नेकपा मालेका टोप बहादुर रोका, राष्ट्रिय जनमोर्चाका दले बुढामगर र माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य बागी उम्मेदवार भिम प्रकाश शर्मा बिचमा प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर २ मा १० जना बिचमा प्रतिस्पर्धा
यस्तै प्रदेशसभा सदस्यको लागी सल्यान क्षेत्र नम्बर २ मा १० जना बिचमा प्रतिस्पर्धा हुने भएको छ । एमाले, माओबादी केन्द्रको संयुक्त बामगठबन्धनबाट प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, राप्रपाका राजेन्द्र बिर राई, जनसमाजबादी पार्टीका हिमलाल बुढाथोकी, राष्ट्रिय जनमुक्तिका डण्डबिर पुन, राष्ट्रिय जनमोर्चाका शोभाराम थापा क्षेत्री, राप्रपा प्रजातान्त्रिकका बेद बहादुर खत्री, नयाँ शक्तिका बिमल राज डिसी, माओबादीका बागी उम्मेदवार जित बहादुर पुन र स्वतन्त्र उम्मेदवार दल बहादुर विश्वकर्मा बिचमा प्रतिस्पर्धा हुने भएको छ ।

४ जनाको उम्मेदवारी फिर्ता
यसैबिच जिल्लामा उम्मेदवारी दिएका मध्ये ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मूख्य निर्बाचन अधिकृतको कार्यालय सल्यानमा आईतबार उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । मंसिर २१ गते हुने निर्बाचनका लागी कात्तिक १६ गते उम्मेदवारी दर्ता गरेका नेकपा माओबादी केन्द्रका ज्ञान बहादुर वली र धर्मे बुढाथोकीले उम्मेदवारी फिर्ता लिनु भएको हो ।

वलीले प्रतिनिधि सभाका लागी उम्मेदवारी दिनु भएको थियो भने बुढाथोकीले प्रदेशसभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनु भएको थियो । यस्तै राप्रपाका गणेश भण्डारी र बालाराम शर्माले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ । भण्डारीले राप्रपाको तर्फ बाट प्रतिनिधिसभा र शर्माले प्रदेशसभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनु भएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक २० गते सोमवार
प्रतिक्रिया