नाकाबन्दीको विरोध गर्ने कांग्रेसका चार नेता टिकटबाटै वञ्चित

 

काठमाडौं, १९ कात्तिक । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा र उम्मेदवार चयनमा भारतीय पक्ष हावी भएको खुलेको छ । मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा भारतीय नाकाबन्दीलाई ‘दक्षिणी सीमा अवरोध’ भनी उल्लेख गरेको कांग्रेसले नाकाबन्दीको विपक्षमा उभिन बैठकमा लिखित प्रस्ताव गर्ने चार नेतालाई उम्मेदवार हुनबाट समेत वञ्चित गरेको छ ।

कांग्रेसले भारतले नाकाबन्दी अझै कसिलो बनाउनु पर्ने भन्दै लगातार सीमा नाकामा धर्ना बस्ने ब्यक्तिहरुलाई सक्रिय राजनीतिमा नभए पनि खोजी खोजी उम्मेदवार बनायो भने नाकाबन्दीको विरुद्ध पार्टीले बोल्नु पर्ने आवाज उठाउने केन्द्रीय सदस्यहरु सबैलाई उम्मेदवारीबाट बञ्चित गर्यो ।

भारतले नाकाबन्दी अझै कसिलो पार्नु पर्ने विचारको पैरवी गर्ने र त्यसका कांग्रेसको नेतृत्वलाई सहमत गराउने काममा सक्रिय रहेका नेताहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, दीपकुमार उपाध्याय, अमरेशकुमार सिंह, फमुल्लाह मन्सुर, प्रदीप गिरीलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनीहरुको सहज जितको वातावरण बनाउन भारतीय दूतावासले खुलेरै राजनीतिक वार्ता गर्ने र मैदानमा खट्नेसमेत काम गरेको छ । अझ नाकाबन्दीको प्रखर ब्यवस्थापक मानिएका दमननाथ ढुंगानालाई सक्रिय राजनीतिमा नभए पनि सहजै जित्ने क्षेत्र खोजी गरी भारतीय पक्षकै दवावमा भक्तपुर २ मा उम्मेदवार बनाइएको छ ।

उता नाकाबन्दीको औपचारिक रुपमै विरोध गरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा लिखित प्रस्ताव दर्ता गराएका चार जना केन्द्रीय सदस्यहरुलाई उम्मेदवार हुनबाट वञ्चित गरिएको छ । कांग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र बद्रि पाण्डेलाई लोकप्रिय केन्द्रीय सदस्य भए पनि कांग्रेसले उम्मेदवार नबनाएको हो । गुरुङ, घिमिरे, पाण्डे र परियारले ०७२ चैत २१ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भारतीय नाकाबन्दीबारे कांग्रेस बोल्नु पर्ने र भारत तथा ईयुले नेपालको संविधान विरुद्ध गरेको वक्तब्यको विरोध गर्नु पर्ने लिखित प्रस्ताव दर्ता गराएका थिए ।

तर, उनीहरुको लिखित प्रस्तावबारे कांग्रेस नेतृत्वले बैठकमा छलफल नै चलाएको थिएन । भारतीय नाकाबन्दीको विपक्षमा रहेको पार्टीको देशभक्त धारलाई समाप्त पार्न चुनावमा टिकट नै नदिइएको कांग्रेस स्रोतले वताएको छ ।

०७२ माघमा नेपालको संविधान विरुद्ध ६ महिनासम्म अमानवीय नाकाबन्दी लगाएको भारतले संविधान विरुद्ध युरोपियन युनियनसँग मिलेर वक्तब्य निकालेको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले उक्त वक्तब्यले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो राखेको भन्दै कडा आपत्ती जनाएको थियो भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वक्तब्यप्रति मौन समर्थन जनाएको थियो । यसै पृष्ठभूमिमा कांग्रेसका चार केन्द्रीय सदस्यहरु गुरुङ, घिमिरे, परियार र पाण्डेले नाकाबन्दी र भारत–ईयुको वक्तब्यबारे पार्टी मौन रहन नमिल्ने तथा त्यसको कडा विरोध गर्नुपर्ने लिखित प्रस्ताव दर्ता गराएका थिए ।

उक्त प्रस्तावलाई बेवास्ता गर्दै कांग्रेस केन्द्रीय समितिको बैठकले संसदीय दलको विधान अनुमोलन गरेको थियो । नेपालमाथिको वैदेशिक हस्तक्षेप स्वीकार गरेको भन्दै आपत्ती जनाउने केन्द्रीय सदस्यहरुलाई आगामी चुनावको उम्मेदवार बन्नबाट समेत कांग्रेसले बञ्चित गरेको छ भने नाकाबन्दी कसिलो बनाउन आग्रह गर्दै ब्यवस्थापकीय काम समेत गरेका नेताहरुलाई जसरी पनि जिताउन भारतीय पक्षसँग आग्रह गरिरहको छ ।

नाकाबन्दीको वचाउमा उभिंदै त्यसलाई अझै कसिलो बनाउनु पर्ने लविङ गर्दै आएका कांग्रेस नेताहरुलाई सरक्षित गर्न भने सभापति शेरबहादुर देउवा सक्रिय रहेका छन् । धनुषा ३ मा विमलेन्द्र निधि, सर्लाही ४ मा अमरेशकुमार सिंह, सिराहमा प्रदीप गिरी, बारामा फर्मुल्लाह मन्सुर, मोरङमा मिनेन्द्र रिजाल, कपिलवस्तुबाट दीपकुमार उपाध्याय लगायत नाकाबन्दीका समर्थकको जित सुनिश्चित गर्न राजपाका नेताहरुलाई भारतीय दूतावासले कांग्रेससँग वार्तामा खटाएको थियो । यस्तै झण्डै २ दशकयता सक्रिय राजनीतिमा नरहेका दमननाथ ढुंगानालाई भक्तपुर २ बाट उम्मेदवार बनाउन पनि भारतीय पक्षले दवाव दिएको थियो ।

भारतीय नाकाबन्दीका बेला कांग्रेस नेता निधि, रिजाल, मन्सुर र सिंहले नेपालमा भारत विरोधी भावना भड्किएको भन्दै नेपाली पक्षलाई नै गाली गरेका थिए भने भारतले नाकाबन्दी नलगाएको सार्वजनिक अभिब्यक्ति दिएका थिए । यस्तै नेता प्रदीप गिरीले भारतले नाकाबन्दी कसिलो नबनाए नेपालमा जनताले अधिकार नपाउने जनाउँदै नाकाबन्दी अझै कसिलो पार्न सुझाव दिएका थिए । गिरीको उक्त सुझावबारे केही समयअघि भारतीय लोकसभाका सांसद मणिशंकर ऐयरले आफ्नो लेख मार्फत नै खुलासा गरेका छन् ।

भक्तपुर २ बाट उम्मेदवार बनाइएका दमननाथ ढुंगाना भने विखण्डनकारी सीके राउतसँग पटक पटक वार्ता गर्दै उनको पक्षमा वकालत गर्ने ब्यक्ति हुन् । राउतको बिखण्डन अभियानका पक्षमा मानवअधिकारकर्मीको रुपमा ढुंगानाले विज्ञप्ति नै निकालेका थिए । ढुंगाना भारतीय नाकाबन्दीका बेला रक्सौलको नाकामा धर्ना बस्न नै पुगेका थिए ।

भारतीइ नाकाबन्दीको पक्षमा रहेका नेताहरुलाई छानी छानी उम्मेदवार बनाउन र जित्ने वातावरण बनाउन भारतीय दूतावाससँग औपचारिक संवाद नै गरेको कांग्रेसले नाकाबन्दीका विरोधीहरुलाई भने छानी छानी टिकटबाट वञ्चित गरेको हो । नाकाबन्दीका पक्षधर निधि लगायतको पक्षमा प्रदेश नम्बर २ मा वातावरण बनाउन भारतीय राजदूत मञ्जिभसिंह पुरी आफैं मैदानमा खटिएका छन् । उनी एक साता लामो ‘धार्मिक’ कार्यक्रम बनाएर ‘रामायण सर्किट’ बनाउने आश्वासन दिंदै आफ्ना एजेन्ट उम्मेदवारलाई जिताउन मैदानमा सक्रिय भएका हुन् ।
चक्रपथअनलाईन्बाट

प्रकाशित मिति : २०७४ कार्तिक १९ गते आइतवार
प्रतिक्रिया