आज उम्मेदवार विरुद्ध उजुरी दिन सकिने

काठमाडाैं,  कात्तिक १७ । दोस्रो चरणमा हुने निर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिन आज पाँच बजेसम्मको समय दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आज दर्ता भएको उजुरी उपर निर्वाचन आयोगले भोली छानविन गरी नामावली प्रकाशन गर्नेछ । कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिन चाहे फिर्ता लिन सक्नेछन् ।

उम्मेदवारले नाम फिर्ता लिने समयावधि सकिएपछि आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ र उम्मेदवारहरूले औपचारिक रूपमा चुनाव चिह्न प्राप्त गर्नेछन् । आ आफ्नो चुनाव चिह्न प्राप्त गरेपछि उम्मेदवारहरूले चुनावी प्रचारका कार्यक्रम गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

दोश्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने निर्वाचनका लागि ४ हजार ७ सय ८ जनाले हिजो मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ १,७४२ र प्रदेशसभा सभातर्फ २,९६६ गरी जम्मा ४,७०८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट जानकारी प्राप्त भएको ढकालले बताउनुभयो ।

उहाँका प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३५ महिला उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया