बैंकबाट सामाजिक सुरक्षा भत्ता लिन तुलसीपुरका नागरिकलाई सास्ती

तुलसीपुर, १९ मंसीर । तुलसीपुर ७ बस्ने ८३ बर्षिया नुमादेवी जैसी सामाजिक सुरक्षा भत्ता निकाल्न पाईन्छ भन्ने सुनेर तुलसीपुरको क लाईनमा रहेको सिद्धार्थ बैंकमा विहानै आउनु भयो । बैंकमा आईपुग्दा धेरै मानिसहरु लाईनमा बसी सकेका थिए । बैंक अगाडी उभिनु भएका उहाले भन्नुभयो बस्ने कुनै ठाउँ छैन कतिन्जेल सम्म उभिनु पर्ने हो, पालो कतिबेला आउँछ थाहा छैन ।यस्तै तुलसीपुर ३ का जेष्ठ नागरिक मान बहादुर चन्द पनि भत्ता निकाल्नका लागी आईतवार विहान ८ बजे सिद्धार्थ बैंकमा आएर लाईनमा बस्नु भएको छ ।

तर उहाले आईतवार दिउँसो १ बजे सम्म पनि पैसा निकाल्न पाउनु भएको छैन । उहाहरु दुई जना प्रतिनिधिमुलक पात्र मात्रै हुनुहुन्छ । सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता लिन जहिल्यै पनि नागरिकहरुलाई सास्ती हुने गरेको छ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि अहिले तुलसीपुरका विभिन्न बैंकहरुमा सेवाग्राहीहरुको अत्यधिक भिड लाग्ने गरेको छ ।तुलसीपुर उपमहानगरपालिका क्षेत्रका सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरु बैंकमा पुगेर घण्टौ सम्म लाईनमा बस्न बाध्य भएका छन् ।

विशेषगरी जेष्ठ नागरिकहरु घण्टौ सम्म लाईनमा बस्नु पर्दा दुख भएको बताउँछन् । उनीहरुले सामाजिक सुरक्षा भत्ता लिनका लागी स्थानिय सरकार तथा बैंकले छुट्टै व्यवस्था गर्नुपर्ने बताउँछन् । उनीहरुले सकेसम्म सम्बन्धित वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाउन माग गरेका छन् ।यदि त्यसो नभएको अवस्थामा बैंकमा पनि सामाजिक सुरक्षा भत्ता वितरणका लागी छुट्टै व्यवस्था गर्न माग गरेका छन् । जेष्ठ नागरिकहरु ग्रामिण क्षेत्रमा बैंक सम्म आउन समस्या हुने गरेको उनीहरुको भनाई छ । बैंकमा आईपुगे पनि घण्टौ समय लाईनमा बस्नु पर्ने हुदा आफुहरुलाई सास्ती भएको उनीहरुले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको १९ वटा वडाका सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीका लागी तुलसीपुर बजार क्षेत्रका १५ वटा विभिन्न बैंकले सेवा दिदै आएको तुलसीपुर उपमहानगरपालिका पन्जिकरण शाखाका अधिकृत कृष्ण बहादुर वलीले जानकारी दिनुभयो । उहाले यस अघि सरकारले चौमासिक अर्थात चार महिनाको एक पटकका रुपमा दिदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्ष २०७८÷७९ बाट प्रत्येक तिन महिनाका एक पटक भत्ता वितरण गर्न सुरु गरेको जानकारी दिनुभयो ।

उहाले कतिपय बैंकमा दुई ÷तिन वटा वडाका सेवाग्राहीहरु एकैपटक जाँदा भिड हुने गरेको बताउनुभयो । उहाका अनुसार आउदो पौष तेस्रो हप्ता सम्म भत्ता वितरण हुने भएकाले हतार नगर्न पनि आग्रह गरिएको छ । एकै पटक सवै सेवाग्राही बैंकमा जाँदा भिडभाड हुने गरेको उहाले बताउनुभयो ।तुलसीपुर बजार क्षेत्रका सिद्धार्थ बैंक, मेगा बैंक, महालक्ष्मी बैंक लगाएतका बैंकहरुमा सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीहरुको दैनिक भिडभाड हुने गरेको बताईएको छ ।

तस्विर : रमेश देवकोटा

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया