युवकको मृत्यु भएपछि दाङका एक होटेल संचालक सहित ११ जना पक्राउ

सांकेतिक तस्विर

तुलसीपुर, १७ मंसीर । दाङका एक युवकको मृत्यु भएपछि होटेल संचालक सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत बुधवार साथीको जन्मदिन मनाउने क्रममा अचेत अवस्थामा फेला परेका घोराही १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको बुटवलमा उपचारको क्रममा मृत्यु भएपछि घटना सार्वजनिक भएको छ । पौडेलको विहिवार बेलुका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।उहाका अनुसार फ्रेन्ड एण्ड फेमिली होटेलमा गएको बुधवार मृतक पौडेलका साथी नविन गिरीको जन्मदिन मनाउन १६-१७ जना भेला युवाहरु भेला भएका थिए ।

उनीहरुले होटेलको तिन वटा कोठा लिएर जन्मदिन मनाएका थिए ।सोहि दिन रात परेपछि ११ जना होटेलमै बास बसेका थिए । मृतक पौडेल संगै एउटै कोठामा बसेका साथीले विहिवार विहान साढे चार बजे होटेल बाहिर अचेत अवस्थामा देखेपछि आफन्तीलाई खवर गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुदै थप उपचारका लागी बुटवल लगीएको र सोहि अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

युवकको मृत्यु पछि मृतकका आफन्तीले घटना संकास्पद भएको भन्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । जाहेरीको आधारमा होटेल संचालक सहित ११ जनालाई पक्राउ गरी घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । मृतकको शवलाई बुटवलमा पोष्टमाटम गरी दाङ ल्याउने तयारी भईरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
प्रतिक्रिया