काठमाडौँ । तत्काल सरकारबाट नबाहिरिने माओवादी केन्द्रको निर्णयपछि सवैको ध्यान प्रधानमन्त्री शेरबहादुर देउवाको अबको कदममाथि परेको छ । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउँछन् वा अरु केही दिन पर्खन्छन् भन्ने सुनिश्चता भएको छैन् । सूत्रका अनुसार माओवादीको पछिल्लो निर्णयपछि फेरि एकपटक यस विषयमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच कुराकानी हुँदैछ ।
देउवाले आज बिहान मात्रै प्रचण्डसँगको भेटमा माअोवादी मन्त्री फिर्ता नबोलाए आफूले बिनाविभागीय बनाउने बताएका थिए । स्रोतका अनुसार आन्तरिक छलफलपछि देउवाले यो कदम चाल्न सक्नेछन् । प्रधानमन्त्री देउवाले असोज २८ गते राप्रपा अध्यक्ष कमल थापासहित आठ जना मन्त्री नियुक्त गरेका थिए । उनीहरुले मन्त्रालय भने पाएका छैनन् । देउवाले माओवादी मन्त्री हटेपछि मन्त्रालय तोक्ने आश्वसन दिएको नवनियुक्त मन्त्रीहरुले बताएका छन् । यस्तो माओवादी मन्त्रीहरु नहटेपछि अव प्रधानमन्त्री देउवा कुन विकल्प रोज्छन् भन्ने यकिन छैन ।
माओवादी मन्त्रीहरुले आफै सरकार छाडेका भए प्रधानमन्त्रीका लागि सवैभन्दा सजिलो विकल्प हुने थियो । यसो भयो भने कमल थापासहितका मन्त्रीहरुलाई विभाग तोकेर अगाडि बढ्न प्रधानमन्त्रीलाई सहज हुने थियो । तत्कालका लागि यो विकल्प टरेको छ ।