काठमाण्डौं,२९ असोज ।
आगाी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आज उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । संविधानसभाबाट जारी नेपालको संविधान अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पहिलोपटक आज उम्मेदवारी दर्ता हुन लागेको हो । निर्वाचन आयोगले बन्दसूची पेश गर्नका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची पेश गर्नुपर्नेछ । निर्वाचन आयोगले ८८ दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्दा महिला उम्मेदवारको संख्या ५० प्रतिशत पु¥याउनुपर्नेछ । नेपालको संविधानले संघीय व्यवस्थापिकामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । कुनै राजनीतिक दलले प्रत्यक्षतर्फबाट एक तिहाई महिला सदस्य निर्वाचित गर्न नसकेमा समानुपातिक निर्वाचन प्रणालीबाट सुनिश्चित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।
नेपालको संविधानले संसद्मा महिलाका प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै समानुपातिक र समावेशी सिद्वान्तलाई आत्मसात गरेको छ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत महिला, दलित, आदिवासी जनजाति, खस आर्य (क्षेत्री, ब्राह्मण, ठकुरी र सन्यासी÷दशनामी), मधेशी, थारु, मुस्लिमको समावेशी प्रतिनिधित्वका लागि त्यस समुदायको जनसंख्याका आधारमा उम्मेदवारी प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले यस प्रणालीबाट निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्ने र कुल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने कानूनी प्रावधान रहेको छ ।