प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन दलहरूको ध्यानाकर्षण

फाईल फोटो

काठमाण्डौ, १० कात्तिक ।बृहत्त् नागरिक आन्दोलनले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन दलहरूको ध्यानाकर्षण गरेको छ । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै बृहत्त् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउन दलहरूको ध्यानाकर्षण गराएको हो।न्यायपालिकामा देखिएको संकट राजनीतिक दलहरूको राज्य सञ्चालन गर्ने कौशलको अभाव र आचरणको उपज भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदनको मापदण्ड तय गर्ने तथा भागबन्डामा न्यायाधीश नियुक्तिको प्रथा बन्द गर्नेबारे प्रमुख दलहरूले आफ्नो दृष्टिकोण प्रस्ट पार्नु अपरिहार्य रहेको पनि विज्ञप्तिामा भनिएको छ।

न्यायपालिकामा देखिएको संकट समाधानतर्फ जिम्मेवार हुनुको सट्टा सत्ता र प्रतिपक्षका दलहरूबीच प्रतिशोध साँध्ने प्रतिस्पर्धा देखिनु गैरराजनीतिक व्यवहार भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो इजलासमा तोकेका मुद्दामा आदेश गर्नुभएको छ । बुधवारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोक्नुभएको थियो । उहाँ बाहेकका न्यायाधीशको इजलास भने आजपनि बस्न सकेन।जबराले आफूलाई तोक्नुभएका पाँचवटै मुद्दामा आदेश गरेर शून्य सुनुवाइ रोक्नुभएको छ ।

दुई दिनपछि बुधवार सर्वोच्चमा मुद्दामा सुनुवाइ भएको हो। अदालतको अवहेलना, सम्पत्ति शुद्धीकरण, बन्दीप्रत्यक्षीकरणको दुईवटा मुद्दा र एउटा कालोबजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरसम्बन्धी मुद्दामा जबराले आफ्नो पेसी तोक्नुभएको थियो । जबराले पहिलो मुद्दा तामेलीमा पठाउने आदेश गर्नुभएको छ। दोस्रो निवेदन फिर्ता गर्ने, तेस्रो र चौथोमा कारण देखाऊ आदेश र पाँचौँमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया