बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्धारा राजीनामा, नयाँ मुख्यमन्त्रीको आह्वान

फाइल फोटो

काठमाण्डौ, १० कात्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा दिनुभएको छ । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेको केहीबेरमा उहाले प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बझाउनु भएको हो ।१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी शाक्य पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि अल्पमतमा पर्नुभएको थियो । हाल प्रदेशसभामा एमालेको ४३ जना मात्रै सांसद छन् ।

मुख्यमन्त्री शाक्यले राजीनामा बुझाएपछि बागमती प्रदेशमा अर्को सरकार गठनको बाटो खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमती प्रदेशमा अर्को सरकार गठनको तयारी गरेका छन् । उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय समेत गरेका छन् ।
नयाँ मुख्यमन्त्रीको लागी आह्वान
यसैविच बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गर्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया