सल्यानमा स्वास्थ्य उपचारका लागि सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई सम्मान

सल्यान,२९ भादौ । सल्यानको कपुरकोट गाउँपालिकाले कोभिड नियन्त्रण, रोकथाम र उपचारका लागि सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको छ । मंगलबार एक कार्यक्रमका विच गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम जम्मा गर्ने, विभिन्न वस्तुगत सहायता उपलब्ध गराउने तथा आइसोलेसन र क्वारेन्टीन व्यवस्थापनमा सहयोग गर्ने ४० संघसंस्था, व्यवशायी र ब्यक्तिहरुलाई सहयोग गरिएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले बताउनुभयो । स्वास्थय क्षेत्रको वार्षिक समिक्षा कार्यक्रमको अवसर पारि गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा मगर र प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले टिका, खादा र सम्मानपत्रले सम्मान गरेका हुन् ।

त्यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने एउटा स्वास्थ्य चौकी र पाँच जना स्वास्थ्यकर्मीहरुलाई पनि गाउँपालिकाले पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७७।०७८ मा उत्कृष्ट कार्य सम्पादन गर्ने धनवाङ स्वास्थयचौकी कपुरकोट पुरस्कृत भएको छ । सेवा प्रवाहमा उत्कृष्ट कार्य गर्ने धनवाङ स्वास्थ्य चौकीमा कार्यरत अनमी सुजाता भण्डारी, रिम स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी नेत्रा वोहोरा, सिनवाङ स्वास्थ्य चौकीमा कार्यरत अनमी चांदनी वली, गर्पा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी माया पुन र सिनवाङ स्वास्थ्य चौकीमा कार्यरत अहेव मुना आचार्यलाई जनही तीन तीन हजार रुपैयाँ पुरस्कार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । यस्तै स्वास्थय क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै स्वास्थ्यका लागि सक्षम प्रणाली र सुआहारा कार्यक्रमलाई पनि सम्मान गरिएको स्वास्थ्य संयोजक दाहालले बताउनुभयो । दुई दिन सम्म चलेको समिक्षा गोष्ठीमा कपुरकोट गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुले गत आर्थिक वर्ष को प्रगति विवरण प्रस्तुत गरेका थिए भने समग्र गाउँपालिकाको स्वास्थय अवस्थाको बारे स्वास्थ्य संयोजक अरुण दाहाल, स्वास्थ्यका लागि सक्षम प्रणालीका हरि ढकाल र सुआहारा कार्यक्रमका तोरण बुढाथोकीले प्रस्तुती राख्नुभएको थियो । समिक्षा गोष्ठी समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले आफ्नो पालिकामा खोप, पोषण, सुरक्षित मातृत्व परिवार नियोजना, क्षयरोग कृष्ठरोग लागायतका कार्यक्रमको सुचक राम्रो देखिएकाले स्वास्थ्य शाखा तथा स्वास्थयकर्मीहरुलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा अझै स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउनका लागि कार्ययोजना सहित अघि बढ्ने बताउनुभयो । कार्यक्रममा गाउापालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, स्सवास्थय सेवा कार्यालय सल्यानका परिवार नियोजन निरिक्षक थलराज डिसी लगाएउतले बोल्दै गुणस्तरिय स्वास्थ्य सेवाका लागि सबैको सहयोग र समन्वयमा जोड दिनुभएको थियो । कार्यक्रमको सहजिकरण सिनियर अहेव सुवाश हमालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया