लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलले दिएको राजीनामा स्वीकृत

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गर्नु भएको हो । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो ।

सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो । । मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले उक्त पत्र प्रदेशसभामा पनि पठाएको छ । एमाले नेता पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्। सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन्।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया