सर्वोच्चले माग्यो लुम्बिनी प्रदेश सांसदको रिटमा लिखित जवाफ

काठमाण्डौ, १७ साउन । सर्वोच्च अदालतले दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई दल त्याग गरेको भन्दै माओवादी केन्द्रले निष्कासन गरेपछि प्रदेशसभा सदस्य पदबाट पदमुक्त भएका थिए ।आफूहरुले दल त्याग नगरेको भन्दै उनीहरुले नेकपा माओवादी केन्द्र, निर्वाचन आयोग, लुम्बिनी प्रदेशसभा सचिवालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

उक्त रिटमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।उनीहरुले सांसद पदमा पुनर्वहाली गर्न माग गरेकामा सर्वोच्चले तत्काल अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । अन्तरिम आदेशका लागि भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि न्यौपाने र पन्थी एमालेमै रहेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई निष्कासन गरेको थियो ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया