खोप लगाएको प्रमाण पत्र निःशुल्क दिन निर्देशन

काठमाण्डौ, १७ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाएको प्रमाण पत्र निःशुल्क गर्न र गराउन निर्देशन दिएको छ । वैदेशिक रोजगारी एवं अन्य कामकाजको लागि बिदेश जानेले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने हुन्छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आईतवार सूचना जारी गर्दै खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको हो । खोप लगाएको प्रमाणीकरण निशुल्क गर्ने साउन ७ गतेको सचिवस्तरको निर्णय अनुसार निर्देश भइसकेकोमा केही अस्पतालले शुल्क लिएको जन गुनासो आएको भन्दै मन्त्रालयले पुनः उक्त निर्देशन कार्यान्वयनका लागि भनेको हो ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया