दाङको एक होटेलबाट झण्डै दश किलो लागु औषध चरेस सहित दुई जना पक्राउ

तुलसीपुर, ७ साउन । दाङमा झण्डै दश किलो लागु औषध चरेस सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गढवा गाउँपालिका वडा नम्वर १ धानखोला स्थित एक होटेलबाट बुधवार दिउँसो पक्राउ गरी प्रहरीले विहिवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ निसीखोला गाउँपालिका १ बस्ने २१ बर्षिय सुदिप सिंजाली मगर र सोहि जिल्लाको बरिगाड गाउँपालिका २ घर भई हाल लमही बजारमा बस्दै आएका ३० बर्षिय रेम बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

धानखोलामा रहेको हुम्ला रलिङग होटेलमा लागु औषध चरेस कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले मगर बसेको होटेलको माथिल्नो तलाको कोठामा खानतलासी गर्दा ९ किलो ९३० ग्राम लागु औषध चरेस फेला पारेको डिएसपी रिजालले जानकारी दिनुभयो । पक्राउ परेका मगरको बयानका आधारमा भुजेललाई लमही बजारबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरु माथी लागु औषध मुद्धामा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।यस अघि प्रहरीले बुधवार साँझ ९ ग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका तिन जनालाई सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया