कात्तिक र मंसीरमा हुने निर्वाचनको तालिका सार्वजनिक

काठमाण्डौ, २१ असार । निर्वाचन आयोगले आउँदो कार्तिक २६ र मंसिर ३ गतेका लागि तोकिएको मध्यावधि चुनावको लागि कार्यतालिका तयार पारेको छ । आयोगले चुनावको उम्मेदवारी दर्ता, मतदान लगायतका तालिका सार्वजनिक गरेको हो ।कार्यतालिका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता हुनेछ । असोज २० गते सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यस्तै दोस्रो चरणको चुनावको लागि उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ ।

३१ गते सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र कार्तिक १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने तयारी छ । पहिलो चरणको चुनाव कार्तिक २६ गते र दोस्रो चरणको चुनाव मंसिर ३ गते हुने छ । असार ३१ गतेदेखि निर्वाचन अवधि सुरु हुने आयोगले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्येरातमा दोस्रो पटक संसद विघटन गरी मध्यावधी निर्वाचनको घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार
प्रतिक्रिया