अखिल क्रान्तिकारीको चुनावमा को बने लोकप्रिय ?

 

काठमाडौं,१७ भदौ। अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । ८४५ मत पाउँदै रञ्जित तामाङ अखिल क्रान्तिकारीको अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी अनिल शर्माले ८२२ मत पाएका छन् ।तामाङले आफूलाई अब्बल सावित गरेको भन्दै प्रत्यासी अनिल शर्माले बधाइ दिएका छन् ।

शनिबार बिहान सार्वजनिक परिणामअनुसार सबैभन्दा धेरै मत पञ्चा सिंहले पाएकी छन् । उनी १०५४ मत पाउँदै उपाध्यक्ष निर्वाचित भएकी छन् । २ हजार २२ मतदातामध्ये निर्वाचनमा १ हजार ७ सय ४ मत खसेको थियो । दोस्रो धेरै मत पाउनेमा दिपेश पुन छन् । तेस्रोमा इन्द्र भुसाल र चौथोमा सुरेन्द्र बस्नेत छन् । पुनले ९२१ मत पाउँदै जनजाति उपाध्यक्ष जितेका छन् भने दलित उपाध्यक्षमा विजयी भुसालले ८१७ मत पाएका छन् । चौथो धेरै मत पाउँदै सुरेन्द्र बस्नेत खुला उपाध्यक्ष बनेका छन् ।

उपाध्यक्षमा तिलक भण्डारी, दिपक देवकोटा, विजय गौतम र रविकिरण यादव पनि निर्वाचित भएका छन् । महासचिवमा उत्तम अधिकारी विजयी भए । उनले ५६९ मत पाएका छन् । उनका निकतम प्रतिस्पर्धी खेमबहादुर सिंहले ५१९ मत पाए । यसैगरी उपमहासचिव पदमा सबैभन्दा धेरै मत जीपी मैनालीले पाउँदै निर्वाचित भए । मैनालीले ७२२ मत पाएका छन् । यसैगरी तुकमान महरा, मिलन महतरा र नरेश रेग्मी विजयी भए ।

३३ सदस्यीय पदाधिकारीमा एकजना उपाध्यक्ष र एकजना उपमहासचिव मनोनित गर्ने व्यवस्था छ । यसैगरी कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् । रावलले निकटतम प्रतिस्पर्धी नवराज ऐरलाई ४४ मतअन्तरले पछि पारे । रावलले ५४४ र ऐरले ५ सय मत पाएका छन् । सचिव पदमा डिबी साउद, प्रविणा अधिकारी, गंगा दाहाल, गजेन्द्र प्रसाद देव, राजकुमार याक्सो लिम्बु, कल्पना मिया र मदन भुल विजयी भएका छन् । सचिव तर्फ सबैभन्दा धेरै मत मुस्लिम कोटाबाट निर्वाचित कल्पना मियाले पाएकी छन् ।

उनले ७६५ मत पाएकी छन् । यसैगरी एक नम्बर प्रदेश सचिवमा मदन कुमार भट्टराई, २ नम्बर प्रदेश सचिवमा सुर्यनारायण साह, ३ नम्बर प्रदेश सचिवमा पवन कार्की, ४ नम्बर प्रदेश सचिवमा क्षितिज सापकोटा, ५ नम्बर प्रदेश सचिवमा नारायण खनाल, ६ नम्बर प्रदेश सचिवमा अम्मरराज शाही र ७ नम्बर प्रदेश सचिवमा दिनेश प्रसाद भट्ट विजयी भए । यस्तै विश्वविद्यालय सचिवमा डा. अच्युत भट्ट निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७४ भाद्र १७ गते शनिवार
प्रतिक्रिया