बाढि र पहिरोबाट १५ जनाको मृत्यु,२५ जना वेपत्ता

फाईल फोटो

काठमाण्डौ, ४ असार । देशभर बितेको ४ दिनको अवधिमा विभिन्न ठाउँमा गएको बाढी र पहिरोबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार गत जेठ ३१ गतेदेखि असार ३ गते साँझसम्मको विवरणमा देशभरका विभिन्न जिल्लामा गएको बाढी पहिरोमा परेर १५ जनाको मृत्यु भएको हो । यस्तै बाढी र पहिरोमा परेर अहिलेसम्म २५ जना बेपत्ता रहेका र ११ जना घाइते भएका केन्द्रका प्रमुख दिल बहादुर तामाङले जानकारी दिनुभयो ।

केन्द्रका अनुसार अहिलेसम्म ९ जना बाढीमा र ६ जना पहिरोमा परेर जम्मा १५ जनाको मृत्यु भएको हो । जसमा सिन्धुपाल्चोकमा ३ जना र सप्तरी, काभ्रेपलाञ्चोक, कास्की, अर्घाखाची, गोरखा र बाजुरामा १–१ जनाको बाढीमा परेर मृत्यु भएको छ । यस्तै डोटीमा ३ र पाल्पा, कालिकोटमा र जुम्लामा पहिरोमा परेर १–१ जनाको मृत्यु भएको हो । यस्तै बाढी र पहिरोमा परेर २५ जना बेपत्ता भएका छन् ।

जसमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा १५ जना बेपत्ता भएका छन् भने दोस्रोमा जाजरकोटमा ७ जना बेपत्ता भएका छन् । यस्तै रुपन्देही, प्यूठान र बाजुरामा १–१ जना बेपत्ता भएका केन्द्रले जनाएको छ ।यस्तै सिन्धुपाल्चोकमा नै सबैभन्दा बढी ६ जना बाढीमा परेर घाइते भएका छन् भने जुम्लामा र डोटीमा २–२ जना घाइते भएका छन् । स्याङजामा पनि १ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया