१ करोड ९३ लाख ७३ हजारले कहिले पाउलान् खोप ?

काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन ।

उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन सकेको छैन । जसका कारण खोपको आशा गर्दै बसिरहेका आमनागरिक समयमै खोप नपाउने चिन्ताले सताइन थालेका छन् । खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनामध्ये हालसम्म २३ लाख ८३ हजारले मात्रै खोप लगाउने अवसर पाएका छन् । बाँकी १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपको प्रतीक्षामा छन् ।

चिन्ता खोपकै

सरकारले आगामी मंसिरसम्म खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप लगाउने प्रतिबद्धता जनाएको थियो तर अहिलेसम्मको प्रगति हेर्दा सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ । खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका देशले खोप उपलब्ध गराउने सुनिश्चितता नजनाउँदा खोप अभियान अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको हो । साथै खोप ल्याउन सरकारले आफ्ना संयन्त्रको समेत सशक्त परिचालन गर्न सकिरहेको देखिँदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख ९१ हजार ४ सय ९४ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । कोभिड–१९ खोपको लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्नेहुन्छ । यसरी हेर्दा अनुमानित १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपबाट वञ्चित छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको गत २८ जेठसम्मको तथ्याकंलाई आधार मान्दा २३ लाख ८३ हजार जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् ।

कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका करिब १३ लाख ५० हजार नागरिक दोस्रो डोजको प्रतीक्षामा छन् । भारत सरकारमार्फत खरिद गरिएको १० लाख डोज नआउँदा ती नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारत सरकारले तत्काल खरिद गरिएको खोप उपलब्ध गराउन नसक्ने जनाएपछि खोप अभियान प्रभावित भएको हो ।

सरकारले गत २३ फागुन गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन सुरु गरेको थियो । यस्तै, १४ जिल्लामा ५५ वर्ष माथिका व्यक्तिलाई पनि खोपको पहिलो डोज लगाइएको थियो । यद्यपि कोभिसिल्डको पहिलो मात्रा (डोज) लगाएका व्यक्तिलाई दोस्रो डोजका रूपमा एस्ट्राजेनेका लगाइने भनिए पनि सो खोपको पनि कहिले आउने सुनिश्चित छैन ।

अब कोभिसिल्डको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रूपमा लगाउने व्यवस्था मिलाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर, विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्रमा दोस्रो डोज लगाइसक्नुपर्नेहुन्छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले खोप उपलब्धताका लागि विभिन्न देशलाई आग्रह गरे पनि खोप आउने सुनिश्चितता अझै नभएको बताए । डा. पोखरेलले भने, ‘अहिलेसम्म कुनै देशबाट पनि खोप उपलब्धताको सुनिश्चितता पाएका छैनौं । हाल चीन सरकारले उपलब्ध गराएको भेरोसिल खोप जेष्ठ नागरिकलाई लगाउने कार्य जारी छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खोप आयातका लागि कूटनीतिक रूपमा पहल भइरहेको बताए ।

स्वास्थ्य मन्त्रालयले कोरोना खोपका लागि ४ खोप उत्पादक कम्पनीलाई पत्राचार गरेको थियो । नेपालमा दर्ता भएका कोभिसिल्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको खोप जोन्सन एन्ड जोन्सनलाई ५० लाख डोज खोप खरिदका लागि पत्राचार गरे पनि ठोस परिणाम आउन सकेको छैन ।

हालसम्म ४१ लाख ४८ हजार कोरोनाविरुद्धको खोप भित्रिएको छ । भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा, खरिद गरिएको १० लाख मात्रा खोप नेपाल भित्रिएको छ । यस्तै, चीन सरकारले अनुदानमा उपलब्ध गराएको १८ लाख मात्रा र कोभ्याक्स फ्यासिलिटीअन्तर्गत ३ लाख ४८ हजार मात्रा खोप नेपाल आएको छ ।

कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्यामध्ये २० प्रतिशतलाई पुग्नेगरी १ करोड ३० लाख डोज खोप उपलब्ध गराउनुपर्ने भए पनि यसबारे ठोस परिणाम निस्किन सकेको छैन ।

यस्तै, कोरोनाविरुद्धको खोप अत्यधिक माग र मागअनुसार आपूर्ति हुन नसक्नु नै खोप अभियानमा चुनौती रहेको सरकारले औंल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मागअनुसार खोप आपूर्ति हुन नसक्दा अभियान सञ्चालन तथा व्यवस्थापनका क्रममा कठिनाइ भएको औंल्याएको हो । सरकारले निकट भविष्यमै खोप ल्याउने भनेर आशा देखाए पनि खोप सन्दर्भमा ठोस परिणाम ननिस्किँदा आमनागरिक चिन्तित बनेका हुन् ।

यस्तै, पूर्वतयारीको समय कम भएकाले खोप लिने व्यक्तिको सूची तयार गर्न चुनौती रहेको, निश्चित स्थानमा खोप केन्द्र रहेकाले खोप सेवाको पहुँचमा कमी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले हाल सञ्चालन गरेको भेरोसिल खोपमा जेष्ठ नागरिक (६० देखि ६४ वर्ष)लाई प्राथमिकीकरणमा राखे पनि अन्य समूहले यो खोप लगाएको पाइएको छ ।

यस्तै, जेष्ठ नागरिकहरूको खोप केन्द्रसम्म सहज पहुँच नभएको, समयमै पर्याप्त खोप प्राप्त नहुँदा सूचना सम्प्रेषणमा कठिनाइ भएको बताइएको छ । खोप अभियान सञ्चालका क्रममा दैनिक खोप प्रगति विवरण संकलनमा कठिनाइ भएको स्वास्थ्यको बुझाइ छ । अहिलेसम्म कति नागरिकले खोप लगाए भन्नेबारेमा विस्तृत तथ्याकंगत विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन ।

हाल नेपालमा कोभिसिल्ड र भेरोसेल खोप उपयोगमा आएको छ । अध्ययन अनुसन्धानले कोभिसिल्ड खोपको प्रभावकारिता ८१ दशमलव १३ प्रतिशत र भेरोसेल खोपको प्रभावकारिता ७९ प्रतिशत रहेको देखाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया