काठमाण्डौ उपत्यकामा खुकुलो बनाउदै निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाण्डौ, ३० जेठ । काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्न आज (आईतवार)तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ । नयाँ शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएपछि यसपालि पुस्तक पसल खुलाउने तयारी गरिएको हो ।

यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ । यसका लागि निश्चित समय तोकिने छ । ढुवानी र जनशक्तिको व्यवस्थापन कुन समयमा कसरी मिलाउने भन्नेबारे आज निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । निषेधाज्ञा थप्नेबारे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले केही दिनयतादेखि सम्बन्धित निकायसँग छलफल गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया