जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह

काठमाण्डौ, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न आग्रह गरेको छ । कोभिड १९ सङ्क्रमित बिरामीको संख्या बढेसँगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने क्रम बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड बिनाका आईसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ ।

ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामग्री राखेर आईसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आईसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर अधिकारीले आईसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधिहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय, प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिनुभएको छ ।

उहाँले सामान्य भौतिक पुर्वाधार को व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसाबले अर्को घातक हुनसक्ने चेतावनी दिनुभयो । डाक्टर अधिकारीले सङ्क्रमणलाई फैलन नदिनस्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपिल गर्नुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया