दाङ अक्सिजन उद्योगको क्षमता भन्दा कम अक्सिजन उत्पादन :उद्योग भन्छ अहिले क्षमता बढाएर के गर्ने ?

दाङ, ३१ बैशाख । दाङमा अहिले अक्सिजनको हाहाकार भएको छ । कोरोना संक्रमित विरामीहरुका लागी आवश्यक पर्ने अक्सिजनको चरम अभाव हुदा विरामीहरुको ज्यान जोखिममा परेको छ । अक्सिजन बिना विरामीहरु छटपटाई रहेका छन् ।विरामीले भनेको समयमा अक्सिजन पाउन सकेका छैनन ।तर दाङमा रहेको अक्सिजन उद्योगले क्षमता अनुसारको अक्सिजन समेत उत्पादन गर्न सकेको छैन । घोराही उपमहानगरपालिका वडा नम्वर ३ झिङनीमा रहेको दाङ अक्सिजन उद्योग प्रालिको दैनिक अक्सिजन सिलिण्डर क्षमता एक सय पचास भएपनि अहिले उद्योगले एक सय बढि अक्सिजन मात्रै उत्पादन गदै आएको उद्योगले बताएको छ ।

कोरोना माहामारीका कारण अहिले अक्सिजनको माग बढेपनि उद्योगले क्षमता अनुसार उत्पादन बढाउन सकेको छैन । विगतमा एक महिनामा मुस्किलले एक हजार अक्सिजन सिलिण्डर खपत हुने गरेकोमा अहिले दैनिक एक सय बढि अक्सिजन सिलिण्डर उत्पादन गदै आएको उद्योगका म्यानेजर भरत पौडेलले बताउनु भएको छ । विगतमा अक्सिजनको माग कम थियो जसले सरदर मासीक एक हजार अक्सिजन मात्रै खपत हुन्थ्यो उहाले भन्नुभयो , अब अहिले कोरोना माहामारीले गर्दा अक्सिजनको माग बढेको छ ।

क्षमता अनुसार उत्पादन गरेपनि खपत थोरै हुदा आफुहरुले अहिले तत्काल उत्पादन क्षमता बढाउन नसकिने उहाले बताउनु भएको छ । अहिले कोरोना माहामारीका कारण बिरामीहरुलाई अक्सिजन आबश्यक पर्ने भएको हुदा अत्यधिक माग बढेको भन्दै माहामारी पछि फेरी अक्सिजनको माग घट्ने उहाले बताउनु भएको छ । अहिले क्षमता अनुसार उत्पादन र खपत भएपनि भोलीका दिनमा फेरी बजारको अभाव हुने हुदा अहिले अक्सिजनको उत्पादन बढाउन नचाहेको उहाले बताउनु भयो ।

साथै उहाले अहिले प्रत्येक पालिका स्तरमा अक्सिजन सहितको आईसोलेसन सेन्टर सन्चालन भएको हुदा झनै समस्या भएको बताउनु भयो । जिल्लामा कति अक्सिजन आबश्यक पर्ने हो, कति उत्पादन गर्नुपर्ने लगाएतका कुराहरुमा आफुहरु संग कुनै समन्वय र सकार्य नभएको गुनासो गर्नुभयो ।जिल्लामा पहिलो पटक २०७२÷०७३ सालमा स्थापना भएको उद्योगले उत्पादन गदै आएको अक्सिजनले विगतमा बजार नपाउदा दुई वर्ष जति उत्पादन बन्द भएको बताईएको छ । दाङमा अहिले दैनिक एक हजार अक्सिजन आबश्यक पर्ने आकलन गरिएको छ । तर अहिलेको अवस्थामा जिल्लामा दैनिक चार सय बढि अक्सिजन अपुग हुने गरेको बताईएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया