प्रधानमन्त्री ओलीले आज सपथ लिदै

काठमाण्डौ, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार)पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिन लाग्नुभएको हो ।गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन मार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि विहिवार राती ९ बजेसम्मको समय दिनुभएको थियो ।

३ दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहले सहयोग नगर्दा विपक्षी गठबन्धनको बहुमतीय सरकार बन्न असफल भएको हो ।जसपाको ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने र एमालेको खनाल–नेपाल समूहले पनि राजीनामा नदिने भएपछि अन्तिम अवस्थामा आएर बहुमतीय सरकारको दाबी गर्नबाट कांग्रेस सभापति शेरबहादुर देउवा पछि हट्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया