राष्ट्रिय सभा सदस्यमा तीनजनाको उमेदवारी दर्ता

सांकेतिक फाईल फोटो

काठमाण्डौ, २४ बैशाख । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र साझा उम्मेदवार खिमलाल देवकोटाको उम्मेदवारी परेको छ ।वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।बादलको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनु भएको छ ।साझा उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहनु भएको छ ।राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ

नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहनु भएको छ ।राष्ट्रियसभामा वाग्मती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि उहाको ठाउँ खाली भएको थियो । सोही ठाउँमा निर्वाचन आयोगले आउदो जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया