दाङका स्थानिय पालिकाहरु दश देखी पचास शैयाको आईसोलेसन बनाउदै (कुन पालिकामा कति शैया )

तुलसीपुर उपमहानगरपालिकाले बनाउदै गरेको ५० शैयाको आईसोलेसन

तुलसीपुर, २१ बैशाख । दाङमा स्थानियतहहरुले अक्सिजन सहितको आईसोलेसन सेन्टर बनाउन सुरु गरेका छन् । कोरोनाका विरामीहरुका लागी आवश्यक पर्ने वेड र अक्सिजनको अभाव हुन थालेपछि दाङका दश वटै पालिकाले अक्सिजन सहितको आईसोलेसन सेन्टर बनाउन थालेका हुन् । सोहि अनुसार तुलसीपुर उपमहानगरपालिकाले ५० शैयाको अक्सिजन सहितको आईसोलेसन सेन्टर तयार पारेको छ ।

तर अहिले तत्काल अक्सिजनको अभाव छ । भएजतिको अक्सिजन समेत कोरोना विशेष अस्पताललाई दिईएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । जसले गर्दा अक्सिजन अभावका कारण आईसोलेसन सेन्टर सन्चालनमा आउन सकेको छैन । तुलसीपुर ८ अश्वारामा रहेको मेट्रो अस्पतालमा आईसोलेसन तयार भएको छ । अक्सिजन आपुर्ति हुने वित्तिकै सन्चलन गर्ने तयारी गरिएको नगरप्रमुख पोडेले बताउनु भयो ।

यस्तै घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान संग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने बेड तयार गर्न सुरु गरेको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । उहाका अनुसार राप्ती स्वास्थ्य विज्ञानमा थप अक्सिजन सहितको आईसोलेसन तयार गर्न केहि बजेट समेत विनियोजन गरिएको उहाले जानकारी दिनुभयो । साथै सरकारले लकडाउन गर्ने र विरामीको उपचार गरेर मात्रै कोरोना रोकथाम तथा नियन्त्रण हुन नसक्ने भन्दै स्वंयम नागरिक आफै सुरक्षित हुने बारे कोरोना सावधानी अपनाउन उहाले आग्रह गर्नुभयो ।

लमही नगरपालिकाले कोरोना सङ्क्रमणको रोकथामका लागि ४० शैयाको आईसोलेसन तयार गरेको छ । गढवा गाउँपालिकाको तयारी २० शैयाको अक्सिजन सहितको.छ भने पश्चिम दाङको बबई गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारलाई थप व्यवस्थित बनाउन हापुरेमा अक्सिजन सहितको ३० शैयाको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो ।

तर अहिले १० देखी १२ वटा शैयाको लागी अक्सिजन संकलन भएको र बाँकी अक्सिजन अभाव भएको उहाले बताउनु भयो ।दगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीका अनुसार बागरमा अहिले दश शैयाको अक्सिजन सहितको आइसोलेसन सेन्टर तयार पारिएको छ । आइसोलेसन सेन्टर हाललाई ६ शैयाको अक्सिजन सहितको र पछि २० शैया सम्मको बनाउने योजना गाउँपालिकाले बनाएको छ ।

बंगलाचुली गाउँपालिकाले २० शैयाको आईसोलेसन तयार गरेको छ भने राजपुर, राप्ती गाउँपालिकाले आईसोलेसन बनाउने तयारी गरीरहेको बताएका छन् भने शान्तीनगर गाउँपालिकाले हाल सात शैयाको आईसोलेसन बनाएको र थप बिस शैया सम्म बनाउने योजना रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिनुभयो । साथै देउखुरी क्षेत्रका चार स्थानिय तह लमही नगरपालिका , राजपुर, राप्ती र गढवा गाउँपालिकाको सयुक्त लगानीमा लमहीमा २५ शैयाको कोरोना विशेष अस्पताल सन्चालनमा आएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया