तुलसीपुर बजार अनुगमनमा बरामद गरिएका सामान नष्ट गरियो

तुलसीपुर, १० बैशाख । तुलसीपुर बजार अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति शाखाको आयोजनामा तुलसीपुर स्थित सल्यान रोडमा रहेका विभिन्न व्यापारिक पसल, होटेल तथा रेष्टुरेण्टमा अनुगमन गरिएको हो ।अनुगमनका क्रममा किराना पसलहरुमा पसलैपिच्छे म्याद गुज्रिएका सामान फेला परेका छन् भने होटेल तथा रेष्टुरेण्टमा सरसफाईमा लापरवाही गरेको पाईएको छ ।

सल्यानरोड स्थित न्यु शाही किराना पसलमा इमामी कम्पनीले उत्पादन गरेको बोरो प्लस नामक क्रिम १० डिब्बा म्याद गुज्रिएको फेला परेको छ ।एक डिब्बामा ३६ थानका दरले ३६० वटा बरामद गरिएको शाखा प्रमुख रेखा शर्माले जानकारी दिनु भएको छ । यस्तैगरी सोहि पसलबाट करेन्ट पाउडर पनि म्याद गुज्रिएको फेला परेको छ ।यस्तैगरी अन्य पसलबाट पनि ज्ञान फुड उद्योगले उत्पादन गरेको १४ प्याकेट बेशन, पुजा ईन्टरप्राईजेज भुजा तुलसीपुर ६ ले उत्पादन गरेको राप्ती टेष्ट भुजा पनि म्याद गुज्रिएको अवस्थामा दुई प्याकेट भुजा बरामद गरिएको उहाले जानकारी दिनु भएको छ ।

उहाका अनुसार अन्य पसलबाट पनि पेयपदार्थ जुस, मदिरा(वियर,अर्ना वियर) , रमपम चाउचाउ, जंगफुड लगाएतका सामानहरु पनि म्याद गुज्रिएको फेला परेपछि बरामद गरीएको छ । बरामद गरिएको सामानहरु नष्ट गरिएको उहाले जानकारी दिनु भएको छ ।अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसपिुरका प्रमुख विवेक बन्जारा, ईलाका प्रशासन कार्यालय तुलसीपुरका नासु तिलक बहादुर केसी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक भरतनाथ योगी, तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य निर्मला भुसाल लगाएतको सहभागिता रहेको थियो ।

म्याद गुज्रिएका क्रिम र करेन्ट मसला

म्याद गुज्रिएको भुजा

म्याद गुज्रिएका सामान बरामद पछि नष्ट गरिदै

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया