तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई आयोगले स्पष्टीकरण सोध्यो

काठमाण्डौं, ६ बैशाख । निर्वाचन आयोगले लगातार तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । राजनीतिक दलहरुलाई स्पष्टीकरण बुझाउन ७ दिनको समयसीमा दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ बमोजिम आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गर्नु पर्ने भए पनि आर्थिक वर्ष २०७४÷०७५ देखि २०७६/०७७ सम्मको गरी ३ आर्थिक वर्षको प्रतिवेदन नपाएपछि स्पष्टीकरण सोधिएको उहाँको भनाइ छ ।

तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाउनेमा सबै साना राजनीतिक दलहरु रहेका छन् । दलहरुलाई आप्mनो दलको आय र व्ययको वास्तविक हिसाव किताब देखिने गरी लेखा राखिएको छ छैन ? राखिएको छैन भने के कति कारणले नराखिएको हो ? राखिएको छ भने सोको विवरण पेश गर्न भनिएको छ । त्यस्तै आयोगले लगातार तीन आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश गरेको नदेखिएकोले के कति कारणले पेश नगर्नु भएको हो ? सोको औचित्यपूर्ण कारण सहित स्पष्ट जवाफ पेश गर्न पनि भनेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया