जुम्लामा सोलारबाट कार गुड्यो

दाङ, ३ बैशाख । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले सोलारबाट चल्ने कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएपछि स्थानीय दंग छन् । वडाध्यक्ष नवीन शर्माका अनुसार चुलेल गाउँका प्रशान्त विक र अज विकले बनाएको गाडी गाउँपालिका अध्यक्ष देवलसिंह रावलले उदघाटन गर्नु भएको छ ।

गाउँपालिका अध्यक्ष रावल, वडाध्यक्ष शर्मासहित सरोकारवाला निकायको सहभागितामा गाउँमै बनाएको कार गुडाएपछि स्थानीय दंग परेका छन् ।२० वर्षीय प्रशान्त र १९ वर्षीय अजले स्थानीय काठ र फलामसहित बाहिरी आवरण सिसाबाट कार निर्माण गरेको स्थानीय रतन वडले जानकारी दिनुभयो ।यसैगरी सोलारमा १२ भोल्टको डबल ब्याट्री जडान गरिएको छ । छतमा सोलारका पातासमेत जडान गरिएको छ ।

अवसर पाए आफैं गाडी र मोटरसाइकल समेत बनाउन सक्ने प्रशान्त विक बताउँनुहुन्छ । प्रशान्तले नाग्म–गमगडी सडकमा १ सय मिटरसम्म सो गाडी कुदाएको स्थानीय तीर्थ वडले बताउनुभयो । उक्त कार अघिल्लो दिन १ किलोमिटर गुडेको थियो । कारमा भित्र ३÷४ जना बस्न मिल्छ । गाउँपालिका अध्यक्ष देवलसिंह रावलले युवाहरूको मेहेनत र सिर्जनालाई पालिकाले संरक्षण गरेर थप तालिमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया